रुकुम पश्चिम -२५, भदौ ।
काठमाडौंमा जारी एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) मा अन्नपूर्ण स्पाइकर फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा सगरमाथा स्म्यासर्सलाई ३-१ को सेटले पराजित गर्दै अन्नपूर्ण फाइनलमा पुगेको हो ।
अन्नपूर्णले अङ्कतालिकामा १२ अङ्क सहित शीर्ष स्थान कायम गर्दै फाइनल यात्रा तय गरेको छ । सगरमाथा भने प्रतियोगिताबाट बाहिरिएको छ ।
एनभिएलमा आजै दिउँसो ४ बजे मधेस वारियर्स र कर्णाली शिवराज बीच खेल हुनेछ । त्यस्तै आजको अन्तिम खेल साँझ ७ बजे काठमाडौँ रेड र खप्तड बीच हुनेछ ।
भलिबल इतिहासमै पहिलोपटक आयोजना भएको एनभिएलमा सर्वाधिक २० लाख रुपैयाँको विजेता पुरस्कार घोषणा गरिएको छ ।
एनभिएलको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । एनभिएलमा ६ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा १० देशका १८ विदेशी खेलाडी विभिन्न ६ फ्रेन्चाइज टोलीबाट खेलिरहेका छन् ।
एनभिएल प्रतियोगिता भदौ २७ गते सम्पन्न हुनेछ ।