रुकुम पश्चिम -२१, भदौ ।
त्रिवेणी गाउँपालिका -२, सिस्रुतु स्थित सहिद स्मृति सभाहलमा शनिबार त्रिवेणी प्रज्ञा प्रतिष्ठानको प्रथम स्थापना दिवस विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरेर मनाइएको छ । त्रिवेणी प्रज्ञा स्मारिका -२०८३ विमोचन, स्रष्टा सम्मान तथा माध्यमिक विद्यालय स्तरीय एकल लोकगीत प्रतियोगिता सञ्चालन गरी कार्यक्रम मनाइएको हो ।
प्रतियोगितामा विद्यार्थीहरूले मौलिक लोकगीत प्रस्तुत गर्दै आफ्नो गायन प्रतिभासँगै स्थानीय कला, संस्कृति र लोक परम्पराको झल्को प्रस्तुत गरेका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले समेत स्थानीय भाषा, साहित्य, कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा त्रिवेणी प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।
साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र साहित्यसँग जोड्दै स्थानीय स्रष्टा तथा प्रतिभाको पहिचान, सम्मान र प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत वक्ताहरूको भनाइ छ ।
प्रतिष्ठान स्थापना भएको पहिलो वर्षमै स्मारिका प्रकाशन, स्रष्टा सम्मान तथा विद्यार्थी स्तरीय लोकगीत प्रतियोगिता जस्ता कार्यक्रम मार्फत त्रिवेणीको साहित्यिक र सांस्कृतिक पहिचानलाई उजागर गर्ने प्रयास गरिएको छ । आगामी दिनमा स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षणसँगै नयाँ प्रतिभाको खोजी र प्रोत्साहनमा प्रतिष्ठानले थप प्रभावकारी भूमिका निर्वाह गर्ने बताएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित माध्यमिक विद्यालय स्तरीय एकल लोकगीत प्रतियोगितामा त्रिवेणी गाउँपालिकाका सातवटा विद्यालयका छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुकी छात्रा संगीता विकले प्रथम हुँदै २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।
त्यस्तै विद्या विकास माध्यमिक विद्यालय जिवाङ्गकी छात्रा मुना ओली द्वितीय हुँदै २ हजार रुपैयाँ, अन्धनाशक माध्यमिक विद्यालय खुम्चेरीकी छात्रा रोशनी खड्का तृतीय हुँदै १ हजार ५ सय रुपैयाँ तथा विद्या विकास माध्यमिक विद्यालय, जिवाङ्गका छात्रा खुसी ओलीले सान्त्वना स्थान हासिल गर्दै १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको बताइएको छ । पुरस्कृत सबैलाई प्रमाण-पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा स्थानीय तहमध्ये कर्णाली प्रदेशमै एकमात्र पहिलो स्थापना प्रज्ञा प्रतिष्ठानले त्रिवेणीको कला, साहित्य र सांस्कृतिक रुपान्तरनको क्षत्रमा योगदान गर्नुहुने त्रिवेणी -२, का झक्कु प्रसाद घर्ती मगर, त्रिवेणी -५, का नन्दकुमार घर्ती र त्रिवेणी -१, का खड्क बहादुर बोहरालाइ संस्थाले सम्मान पत्र र खादाले सम्मान गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानको वार्षिक प्रगति प्रतिवेदन र आगामि चालु आर्थिक वर्षका कार्यक्रमहरू समेत पेश गरिएको थियो ।
त्रिवेणी प्रज्ञा परिषदका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष एवं त्रिवेणी प्रज्ञा प्रतिष्ठानका कुलपति गणेश कुमार केसीको प्रमुख अतिथि रहेको थियो । प्रतिष्ठान प्रज्ञा परिषदका सदस्य कुबेर ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन त्रिवेणी प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव नवराज खड्काले गरेका थिए ।