रुकुम पश्चिम -६, असोज ।
हरेक वर्षको आश्विन शुक्ल प्रतिपदा देखि सुरु हुने हिन्दुहरूको महान पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ । आज पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ । घटस्थापना देखि सुरु हुने बडा दसैँ पूर्णिमासम्म अर्थात् १५ दिनसम्म धूमधामका साथ मनाउने गरिन्छ ।
आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
यस वर्षको असोज १६ गते देवी विसर्जनको साइत बिहान ९ : २३ बजे रहेको समितिले जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ : ५३ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।