रुकुम पश्चिम -३, वैशाख ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रुकुम पश्चिमको मुसिकोटमा यू–१६ पालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ, रुकुम पश्चिमको आयोजनामा वैशाख १८ गतेदेखि २० गतेसम्म मुसिकोट नगरपालिका -६, ट्याखोला खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा सहभागिता जनाउने टिमहरूले वैशाख १६ गतेभित्र दर्ता गर्नुपर्नेछ । आयोजकले प्रतियोगितामा सहभागिताका लागि कुनै पनि दर्ता शुल्क नलाग्ने जनाएको छ । आयोजकले प्रतियोगिता अवधिभर सहभागी खेलाडीहरूका लागि नास्ताको व्यवस्था समेत गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार र द्वितीय हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने उत्कृष्ट एकजना खेलाडीलाई म्यान अफ द सिरिज अन्तर्गत एउटा साइकल पुरस्कार र नगतसहित कप प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रत्येक विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको सह-आयोजक देव्यानी स्पोर्ट्स, मुसिकोट -१ बागबजार रहेको छ । आयोजक संस्था नेपाल क्रिकेट संघ, रुकुम पश्चिमले खेलकुदको माध्यमबाट युवाहरूलाई सक्रिय, स्वस्थ र अनुशासित बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।