रुकुम पश्चिम -२७, चैत ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य कृष्णराज पौडेलले अबको उत्तम विकल्प जनवादी राज्य व्यवस्था हुने बताएका छन् । जनसम्बन्ध विस्तार अभियानको सिलसिलामा आज मुसिकोटमा आयोजित पत्रकार भेटघाटमा बोल्दै वर्तमान व्यवस्था असफल भइसकेकाले त्यसको विकल्प नै जनवादी व्यवस्था हुने बताए ।
जनवादी राज्य व्यवस्थाभित्र स्वतन्त्र पुँजीवादको विकास सँगै शिक्षा, स्वास्थ्य र सामाजिक न्यायको सुनिश्चितता हुने उनको भनाइ छ । “यस व्यवस्थामा रोजगारीको ग्यारेन्टी, सबैको समान पहुँच, सुरक्षा र समानता कायम हुन्छ, त्यसैले अग्रगामी र उन्नत व्यवस्था नै जनवाद हो, नेता पौडेलले भने ।”
तर यो व्यवस्था स्थापित गर्नका निम्ति एउटै कम्युनिष्ट पार्टीले मात्रै सम्भव नहुने बताए । यसका लागि सबै क्रान्तिकारी शक्ति एक हुनुपर्ने र त्यसको अगुवाइ क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्ने अभियानका कमाण्डर समेत रहेका नेता पौडेलको भनाइ छ ।
यसैगरी अर्को एक फरक प्रसङ्गमा उनले अहिलेको सरकार सत्ता र शक्तिमा मात्रै सीमित भएको ठोकुवा गरे । असफल सरकारकै कारण आम जनताले विकल्प खोज्दा राजावादीहरू उठ्न खोजेको उनले बताए । तर नेपालमा अब राजतन्त्र फर्किने सम्भावना नरहेको नेता पौडेलको भनाई छ ।
त्यस्तै उनले सत्तामा गएकाहरू विदेशीको इशारामा चल्दा माफियाहरूको हालीमुहालीले देशमा भ्रष्टाचार बढ्दै गएको बताए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले चैत ४ गते देखि देशैभर जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेको छ । यो अभियान वैशाख १८ गते सकिने बताइएको छ ।