रुकुम पश्चिम -१५, चैत
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज अपराह्न चार बजेर २५ मिनेटदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेश अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने उल्लेख गरिएको छ ।
कर्फ्यू लागू हुने क्षेत्रहरूमा बानेश्वर देखि तीनकुने- गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म रहेको छ ।
प्रशासनले सर्वसाधारणलाई तोकिएको क्षेत्रभित्र नजान तथा आदेशको पालना गर्न आग्रह गरेको छ । आदेश उल्लङ्घन गर्नेहरूलाई कानूनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
आज काठमाडौंमा राजावादी र समाजवादी मोर्चाले छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् । राजावादीको आन्दोलनले काठमाडौको तिनकुने आसपासका घरहरुमा तोडफोड भएपछि अवस्था थप संवेदनशील बनेका कारण कर्फ्यु जारी भएको छ ।