रुकुम पश्चिम १, माघ ।
रुकुम पश्चिममा यसवर्ष झण्डै ३ करोडको सुन्तला बिक्री भएको छ । जिल्ला स्थित ६ वटै पालिकाका किसानले उत्पादन गरेको सुन्तला बिक्री भएको हो ।
कृषि विकास कार्यालयका अनुसार जिल्लाभरबाट ४ लाख ९४ हजार सातसय ३५ किलोग्राम सुन्तला बिक्री भएको छ । प्रति किलो ६० रुपैयाँका दरले दुई करोड ९६ लाख ८४ हजार एकसय रुपैयाँको सुन्तला बिक्री गरिएको छ ।
जसमध्ये सबैभन्दा धेरै त्रिवेणी गाउँपालिकाबाट २ लाख १२ हजार २ सय ३५ किलोग्राम सुन्तला बिक्री भएको छ । यसबाट १ करोड २७ लाख ३४ हजार एकसय रुपैयाँको कारोबार भएको छ । त्यस्तै आठबिसकोट नगरपालिकाबाट १ लाख २५ केजी सुन्तला बिक्रीबाट ६० लाख एक हजार पाँच सय रुपैयाँ कारोबार भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा छ ।
यसैगरी मुसिकोट नगरपालिकाबाट ८५ हजार केजी सुन्तला बिक्रीबाट ५१ लाख र बाँफिकोट गाउँपालिका बाट ६० हजार केजी सुन्तला बिक्रीबाट ३६ लाख र सानीभेरी गाउँपालिकाबाट १० हजार केजी सुन्तला बिक्रीबाट ६ लाख कारोबार भएको छ । सबैभन्दा कम चौरजहारी नगरपालिकाबाट भने २ हजार पाँचसय किलोग्राम सुन्तला बिक्रीबाट एकलाख ५० हजार रुपैयाँ कारोबार गरिएको बताइएको छ । सबैभन्दा कम चौरजहारी नगरपालिकाबाट भने २ हजार पाँचसय किलोग्राम सुन्तला बिक्रीबाट एकलाख ५० हजार रुपैयाँ कारोबार गरिएको बताइएको छ ।
रुकुम पश्चिमका किसानले उत्पादन गरेको सुन्तला स्थानीय बजार लगायत देशका विभिन्न सहरमा बिक्री भएको बताइएको छ । तर गत वर्षको तुलनामा भन्दा यस वर्ष भने जिल्लामा सुन्तला उत्पादन घटेको कृषि विकास कार्यालयको भनाइ छ । गतवर्ष जिल्लाको त्रिवेणी गाउँपालिकाबाट मात्रै दुई करोड १६ लाख ३० हजारको सुन्तला बिक्री भएको थियो ।
रुकुम पश्चिममा एकसय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ । सुन्तला खेतीबाट यहाँका किसानले आफ्नो जनजीविका चलाउँदै आएका छन् ।