रुकुम पश्चिम -१५, भदौ ।
रुकुम पश्चिम घर भई हाल अमेरिकामा रहेका मनराज देवकोटा र हरिबहादुर खत्रीले रसुवा बाढी प्रभावितका लागि दुई लाख बढी रकम सहयोग गरेका छन् । उनीहरूले बाढी प्रभावितलाई थोरै भएपनि केही राहत होस् भनेर दुई लाख ११ हजार एकसय ११ रुपैयाँ सहयोग गरेको बताएका छन् ।
उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ । रसुवा बाढीबाट ठूलो जनधनको क्षतिले आफूहरू अत्यन्त दुःखी भएकाले प्रभावितका लागि आर्थिक सहयोग गरिएको मनराज देवकोटाले बताए ।
यस्तो दुःखको घडीमा सबै नेपाली एक ठाउँमा हुँदै प्रभावितको सहयोगमा जुट्नुपर्ने समाजसेवी देवकोटा र खत्रीको भनाइ छ ।
समाजसेवी देवकोटा सानीभेरी गाउँपालिका र खत्री बाँफीकोट गाउँपालिकाका हुन् ।
भदौ १० गते गएको रसुवा बाढीमा परेर हालसम्म करिब ८ सय जनाको मृत्यु भएको छ । साढे २ हजार बढी सम्पर्कविहीन छन् ।
प्रभावित क्षेत्रमा घाइतेको उद्धार, बेपत्ताको खोजी र राहतको काम चलिरहेको छ ।