रुकुम पश्चिम -१२, भदौ ।
आदरणीय मेयरसाब,
सादर नमस्कार ।
आज यो चिठी लेख्न बस्दा मनमा धेरै कुरा छन् । तर सबैभन्दा पहिले एउटा कुरा स्पष्ट गरौँ, यो पत्र तपाईंको आलोचना गर्न लेखेको होइन । तपाईंलाई सार्वजनिक रूपमा आरोप लगाउने मेरो कुनै उद्देश्य छैन । तपाईंलाई व्यक्तिगत रूपमा आलोचना गर्नुपर्ने कुनै त्यस्तो कारण पनि मसँग छैन ।
तर एउटा प्रश्न भने धेरै दिनदेखि मेरो पछाडि लागिरहेको छ: “मुसीकोट हेरिटेज रन यो वर्ष किन सञ्चालन भएन ?” जहाँ भेट्यो त्यहीँ मान्छेहरू सोध्छन् । कसैले फोन गरेर सोध्छ, कसैले मेसेन्जरमा सोध्छ, कसैले भेटेर सोध्छ । गत वर्ष कार्यक्रमको संयोजन गरेको नाताले मैले यसको उत्तर दिनुपर्ने अवस्था पनि स्वाभाविक नै लाग्दछ ।
तर मसँग स्पष्ट उत्तर छैन । त्यसैले यो प्रश्नको उत्तर खोज्दै यो चिठी तपाईंलाई लेखिरहेको छु ।
मेयरसाब,
मुसीकोट नगरपालिकाको अभिभावकत्व सम्हालेर सीमित स्रोतसाधनबाट असीमित अपेक्षा पूरा गर्नु सजिलो काम होइन । त्यसमा पनि जिल्लाको सदरमुकाम रहेको नगरपालिकाका नागरिकका अपेक्षा स्वाभाविक रूपमै धेरै हुन्छन् । सडक चाहिन्छ, खानेपानी चाहिन्छ, शिक्षा र स्वास्थ्य चाहिन्छ, खेलकुद चाहिन्छ, संस्कृति चाहिन्छ, पर्यटन चाहिन्छ । नगरपालिकाका काँधमा जिम्मेवारीको सूची निकै लामो छ ।
बजेट कसरी बन्छ, कार्यक्रम कसरी प्राथमिकतामा पर्छ, कसरी स्वीकृत हुन्छ, कसरी खर्च हुन्छ र त्यसको अनुगमन तथा मूल्याङ्कन कसरी गरिन्छ भन्ने कुरा मैले पनि आर्थिक प्रशासनको विद्यार्थी तथा लामो समय राष्ट्रसेवक भएर केही हदसम्म बुझेको छु ।
त्यसैले तपाईंलाई सीमित बजेटभित्र धेरै कुरा मिलाउनुपर्ने बाध्यता छ भन्ने कुरा मैले नबुझेको होइन । त्यसैले यो पत्र गुनासोभन्दा बढी एउटा सम्झना हो ।
मेयरसाब,
राप्ती साहित्य परिषद्का कार्यक्रमहरूमा तपाईंले विगतको भन्दा गर्नुभएको थप सहयोग हामीले बिर्सेका छैनौँ । त्यसका लागि तपाईंप्रति हाम्रो सकारात्मक धारणा नै छ । तर एउटा प्रसङ्ग अलि फरक छ ।
राप्ती साहित्य परिषद्ले खेलकुदमा हात हाल्नु कति शोभनीय थियो, त्यो छुट्टै बहसको विषय हुन सक्छ । हामी पनि खेलकुद संस्था होइनौँ । तर मुसीकोटका पर्यटकीय तथा ऐतिहासिक सम्पदालाई खेलकुदसँग जोडेर चिनाउने काममा अन्य क्षेत्रबाट खासै पहल नभएको अवस्थामा हामीले एउटा प्रयास गरौँ भन्ने सोच्यौँ । त्यसैबाट जन्मिएको थियोः मुसीकोट हेरिटेज रन ।
गत वर्ष हामीले इच्छुक चन्दादाता र सहयोगदाताका घरदैलोमा पुगेर, हातपाउ जोडेर स्रोत जुटायौँ । नगरपालिकाको बजेट प्रयोग भएन । तर तपाईं र नगरपालिका परिवार नै आफैँ कार्यक्रममा उपस्थित हुनुभयो । तपाईंको संस्थागत तथा व्यक्तिगत समर्थनले खेलाडी, आयोजक र सहयोगदाताको मनोबल बढायो । त्यसका लागि तपाईंलाई फेरि पनि धन्यवाद दिन चाहन्छौँ ।
कार्यक्रम सुरु हुनुभन्दा केही घण्टाअघि जिल्लाका क्रियाशील खेलकुद क्षेत्रका केही पदाधिकारीबाट “यो कार्यक्रम कसको समन्वयमा हुँदैछ ?” भन्ने गुनासो मिश्रित चेतावनी समेत आएको थियो । तर ती सबै कुरा पार गर्दै कार्यक्रम सम्पन्न भयो ।
त्यो दिन हामीले एउटा कुरा अनुभव गर्यौँ, कहिलेकाहीँ एउटा सानो प्रयासले पनि ठूलो सम्भावनाको ढोका खोल्दो रहेछ ।
मेयरसाब,
यो वर्षको परिस्थिति गत वर्षजस्तै रहेन । गत वर्ष जसरी साथीभाइ र शुभेच्छुकसँग हात जोडेर मात्र स्रोत जुटाउने अवस्था रहेन । त्यसरी हरेक वर्ष कार्यक्रम चलाउन सम्भव पनि थिएन । त्यसैले नगरपालिकासँग सहयोग माग्यौँ । यही विश्वासका साथ गत साउन १५ गते तपाईंको संयोजकत्वमा नगरपालिकामा बैठक बस्यो । बैठकमा अबदेखि कार्यक्रमको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले नै लिने विषयमा छलफल भयो । तपाईंले एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । हामीले त्यसलाई स्वागत गर्यौँ ।
कार्यपालिकाको बैठकबाट पनि तपाईँको उक्त प्रतिबद्धताले औपचारिकता पायो । हामी अझै उत्साहित भयौँ । यसबाट हामीले एउटा अर्थ बुझेका थियौँ: अब यो कार्यक्रम राप्ती साहित्य परिषद्को मात्र होइन, मुसीकोट नगरपालिकाकै पनि कार्यक्रम बन्ने भयो ।
त्यसपछि हामीले दोस्रो मुसीकोट हेरिटेज म्याराथन–२०८३ सञ्चालनका लागि प्रस्ताव पेस गर्यौँ । अनुमानित लागत थियोः रु. २ लाख ५० हजार । हामीले नगरपालिकासँग जम्मा रु. २ लाख माग गरेका थियौँ र बाँकी रु. ५० हजार आफैँ जुटाउने प्रतिबद्धता गरेका थियौँ । कार्यक्रमको लक्ष्य, उद्देश्य, औचित्य, महत्त्व, कार्यक्रम तालिका, जिम्मेवारी आदि स्पष्ट गरिएको उक्त प्रस्तावमा कार्यक्रम भदौ १२ गते गर्ने भनिएको थियो ।
गत वर्षको दौड रुटलाई परिमार्जित गरेर खलङ्गाको बराह टाकुराबाट सुरु हुने दौड कालिका मन्दिर हुँदै सेरिगाउँ, पुरानो बाटोबाट चाँपा, मुसीकोट दरबार, शीतलपोखरी, ठाराढुङ्गा, डाङडुङ्गे, कानेबाङ, साँखदह, बयरीदह, ठुलदह, स्यानदह, खारादह, पोखरा, सातदुले–जुम्लेपोखरी, डँयरीचौर (प्रेमताल), पाथीहाल्ने, जन्ती ओलप्पेको लेक, घिमाने, डिग्रे साइकुमारी मन्दिर हुँदै पुनः खलङ्गामै आएर टुङ्गिने गरी फूल म्याराथन अर्थात् कुल दूरी—४२.१९५ किलोमिटर पुर्याउने भनेका थियौँ ।
कल्पना गर्नुहोस् मेयरसाब, दौडने खेलाडीहरू मुसीकोटका मात्र नभई देशभरिबाट ओइरिने थिए । दौडको केवल पदक जित्ने उद्देश्यले मात्र आउने थिएनन्; मुसीकोटका ती ठाउँहरूलाई आफ्ना खुट्टाले नाप्दै, आँखाले देख्दै, अनुभव गर्दै जाने थिए ।
हाम्रो चाहना थियोः मुसीकोटका सम्पदा नक्सामा मात्र होइन, देशभरका मानिसहरूको स्मृतिमा पुगून् ।
कल्पना गर्नुहोस् मेयरसाब, दौडने खेलाडीहरू मुसीकोटका मात्र नभई देशभरिबाट ओइरिने थिए । दौडको केवल पदक जित्ने उद्देश्यले मात्र आउने थिएनन्; मुसीकोटका ती ठाउँहरूलाई आफ्ना खुट्टाले नाप्दै, आँखाले देख्दै, अनुभव गर्दै जाने थिए ।
हाम्रो चाहना थियोः मुसीकोटका सम्पदा नक्सामा मात्र होइन, देशभरका मानिसहरूको स्मृतिमा पुगून् ।
तपाईँलाई अवगत नै छ यस्तै दूरीको मौराखारा म्याराथन कार्यक्रम सञ्चालन गर्न २० लाखभन्दा बढी खर्च भइरहेको र गत वर्षदेखि सुरु भएको चित्रिपाटन म्याराथनको लागत पनि ५ लाखभन्दा बढी भएको खबर सुनिएको थियो ।
बैठकमा कार्यक्रम सञ्चालनका लागि प्रतिस्पर्धा गराएर ठेक्कामा दिने कुरा पनि उठेको थियो । त्यो पनि गलत हो भनेर म भन्न चाहन्नँ । नगरपालिकाका आफ्नै प्रक्रिया र विधि हुन्छन् । तर एउटा प्रश्न भने मनमा उठिरह्योः हेरिटेज रनको मूल उद्देश्य के हो ? केवल केही खेलाडीलाई दौडाउनु ? केवल एउटा खेलकुद कार्यक्रम सम्पन्न भएको औपचारिकता पूरा गर्नु ? कि मुसीकोटका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई खेलकुद तथा पर्यटनसँग जोडेर बाहिर चिनाउनु ?
यदि तेस्रो उद्देश्य हो भने, कार्यक्रम सञ्चालन गर्ने संस्था वा समूहले मुसीकोटको हेरिटेजलाई कति बुझेको छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । किनकि यो अरू खेलजस्तो मात्र खेल होइन । यसको उपलब्धि तुरुन्तै देखिँदैन । यसको प्रभावको हिसाब एउटा कार्यक्रमको खर्च र खेलाडीको सङ्ख्याबाट मात्र गर्न मिल्दैन । आज दौडिएको बाटो भोलि पर्यटकीय बाटो बन्न सक्छ । आज देखाइएको सम्पदा भोलि कसैको यात्राको गन्तव्य बन्न सक्छ । आज खिचिएको एउटा तस्बिर भोलि मुसीकोट चिनाउने सामग्री बन्न सक्छ । त्यसैले यसको महत्त्वको मूल्याङ्कन अलि लामो समयको आँखाले गर्नुपर्छ जस्तो लाग्छ ।
मेयरसाब,
तपाईंले त्यतिबेला एउटा कुरा बारम्बार भन्नुभएको सम्झन्छुः “वडास्तरीय, पालिकास्तरीय र जिल्लास्तरीय खेलकुदलाई पनि मैले प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।” तपाईंको कुरा आफ्नो ठाउँमा ठीक छ । तर मेरो आग्रह यति मात्र होः हेरिटेज रनलाई पनि त्यही दृष्टिले मात्र नहेर्नुहोस् । यो खेलकुदको कार्यक्रम हो, तर खेलकुद मात्र होइन । यो पर्यटनको कार्यक्रम हो, तर पर्यटन मात्र होइन । यो संस्कृति र सम्पदाको कार्यक्रम हो, तर संस्कृति मात्र होइन । यो त यी सबैलाई एउटै धागोमा गाँस्ने एउटा प्रयास हो ।
अब एउटा व्यावहारिक कुरा । नगरपालिकाले प्रतिबद्धता गरेको रु. १ लाखबाटै पनि कार्यक्रम सञ्चालन गर्न नसकिने थिएन । तर समस्या पैसामा मात्र सीमित थिएन । कार्यक्रम गर्ने भएपछि तयारी समिति कहाँ बस्ने ? कार्यालय कसरी चलाउने ? मसलन्द कसले दिने ? कम्तीमा केही सातासम्म खटिने जनशक्ति कहाँबाट ल्याउने ? ब्यानर कसले बनाउने ? कसले टाँस्ने ? निरन्तर प्रचारप्रसारको काम कसले गर्ने ? प्रमाणपत्र कसले तयार गर्ने ? रुट मार्किङ कसले गर्ने ? ट्र्याकिङ कसले गर्ने ? खेलाडी र अतिथिहरूलाई निमन्त्रणा कसले पठाउने ? निमन्त्रणा नपुगेकालाई फोन गरेर कसले खबर गर्ने ? कार्यक्रमको दिन स्वास्थ्य सेवा कसरी व्यवस्थापन गर्ने ? सुरक्षा कसरी मिलाउने ?
यी सबै काममा समन्वय, प्राविधिक सहयोग र प्रशासनिक साथ चाहिन्थ्यो । र सत्य कुरा के हो भने राप्ती साहित्य परिषद्सँग कार्यक्रम सम्पन्न गर्ने अदम्य उत्साह थियो, उत्कट इच्छा थियो, अनुभव थियो; तर यी सबै काम धान्न पुग्ने जनशक्ति थिएन ।
त्यसैले हामीले तपाईंलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गर्यौँ । प्रत्यक्ष होस् वा अप्रत्यक्ष । तर प्रस्तावित समयमा कार्यक्रम गर्न आवश्यक पर्ने गरी समन्वय हुन सकेन । समय बित्दै गयो । भदौ १२ नजिकिँदै गयो । अन्ततः त्यो मिति आयो र निष्परिणाम गयो । देशैभरिबाट म्याराथन धावकहरू यस दौडमा आउन भाग लिन आउन तम्तमाएका थिए । तर मुसीकोटको एउटा प्रबल सम्भावना भने त्यस दिन यत्तिकै चुपचाप खेर गयो ।
मेयरसाब,
यी कुराहरू अलि भावुक लाग्लान् । तर कुनै सानो देखिने कुराले पनि कहिलेकाहीँ ठूलो तरङ्ग पैदा गर्छ । र कुनै ठूलो देखिने कार्यक्रमको उपलब्धि पनि कहिलेकाहीँ शून्य हुन सक्छ । यसको फैसला हामीले आजै गर्नुपर्दैन । समयले आफैँ गरिदिन्छ । त्यसैले म तपाईंलाई दोष लगाउन खोजिरहेको छैन । बरु एउटा सम्भावनातिर ध्यानाकर्षण गराइरहेको छु । मुसीकोटका सम्पदाहरूको चिनारी र प्रवर्द्धनको लागि तपाईँकै पालामा सुरुवात गरिएको जस पाउनुहुने थियो ।
यो पत्र लेख्नुपर्ने बाध्यता किन पर्यो, सुरुमा नै मैले भनिसकेँ । गत वर्ष कार्यक्रम सफल तुल्याउने संयोजकको नाताले मलाई भित्र र बाहिरबाट निरन्तर सोधखोज भइरहेको छ । “यसपालि हेरिटेज रन किन भएन ? के कुराले अड्कियो यति महत्त्वपूर्ण कार्यक्रम ? कसले रोक्यो यो कार्यक्रम ?”
मसँग त्यसको पूरा उत्तर छैन । त्यसैले यो प्रश्नको जवाफ दिने एउटा हिस्सा तपाईंको काँधमा राखिदिएको हुँ । यदि यो पत्रका कुनै शब्दले तपाईंको मन दुखाए वा मानमा चोट पुगेको महसुस भयो भने सार्वजनिक रूपमा क्षमा चाहन्छु ।
मेरो उद्देश्य व्यक्ति होइन, विषय हो । व्यक्ति होइन, सम्भावना हो । म कहिल्यै व्यक्तिगत नाफाघाटा हेरेर काम गर्दिनँ ।
अझै एउटा कुरा बाँकी छ । भदौ १२ गते कार्यक्रम हुन सकेन भन्दैमा हेरिटेज रनको यात्रा सकिएको छैन । समय मिल्छ । यो वर्षका थुप्रै दिनहरू बाँकी नै छन् । अनुकूल परिस्थिति आउँछ । फेरि बैठक बस्न सकिन्छ । परिमार्जित रूपमै भए पनि मुसीकोट म्याराथन सफलतासाथ सम्पन्न गर्न सकिन्छ । तर त्यसका लागि नगरपालिकाको आर्थिक सहयोग मात्र पर्याप्त हुँदैन । आर्थिक सहयोगसँगै प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय सहयोग पनि चाहिन्छ ।
नगरपालिकाले अपनत्व लिएर एउटा सक्षम टिम बनाएर अघि बढ्यो भने मुसीकोट हेरिटेज रनलाई एउटा वर्षको कार्यक्रमबाट निरन्तर चल्ने पहिचान बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ । राप्ती साहित्य परिषद्ले गत वर्ष सुरुवात गरेको थियो । अब यसलाई नगरपालिकाले आफ्नो बनाउन सक्छ । अनि भोलि कुनै अर्को सक्षम संस्था वा समूहले अझ विस्तार गर्न सक्छ । सुरुवात कसले गर्यो भन्नेभन्दा पनि यात्रा कहाँ पुग्छ भन्ने कुरा ठूलो हो ।
मेयरसाब,
यो पत्र स्थानीय अनलाइन पत्रिकामार्फत सार्वजनिक गर्दैछु । तपाईँसमक्ष पुग्ने नै छ । मेरो कुरा तपाईंले आफ्नै विवेकले बुझ्नुहुनेछ भन्ने विश्वास छ ।
गत वर्ष डिग्रे साईकुमारी भगवती मन्दिरबाट दौड सुरु गर्दा हामीसँग धेरै कुरा थिएनन्—न पर्याप्त बजेट, न ठूलो जनशक्ति, न ठूलो संस्थागत संरचना ।
तर एउटा कुरा थियोः मुसीकोटलाई चिनाउन सकिन्छ भन्ने विश्वास । त्यही विश्वासले हामीलाई दौडायो । त्यही विश्वासले हामीले २६ जना धावकहरूलाई निर्बाध रूपमा दौडायौँ । यसपालि त्यो विश्वास अझै मरेको छैन ।
बरु तपाईंको नेतृत्वमा नगरपालिका स्वयं त्यस दौडको सहयात्री बनोस् भन्ने अपेक्षा मात्र हो । मुसीकोटका सम्पदाहरूले हामी पनि मुसीकोटलाई समृद्ध बनाउनसक्छौँ भन्दै हामीलाई बोलाइरहेका छन् । हामीले तिनीहरूलाई सुन्ने कि नसुन्ने ?
मेयरसाब,
अन्तमा यो पत्रलाई हृदयङ्गम गरेर आवश्यक कदम चाल्नुहुनेछ विश्वासको साथ बिदा हुन चाहन्छु ।
पूर्ण ओली
मुसीकोट, रुकुम पश्चिमको एक बासिन्दा