रुकुम पश्चिम -२५, जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको आइतबार मुसिकोटमा सम्पन्न प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट द्रोण खड्का सभापतिमा निर्वाचित भएका छन् । सभापतिका अर्का प्रतिस्पर्धी उम्मेदवार पुस्तक चन्दलाई पराजित गर्दै खड्का सभापतिमा निर्वाचित भएका हुन् ।
उनले ४२ मत प्राप्त गर्दा चन्दले ३० मत प्राप्त गरे । आइतबार राति भएको निर्वाचनबाट ३२ मत प्राप्त गर्दै रिम प्रसाद शर्मा उपसभापतिमा चयन भएका छन् ।
त्यस्तै रास्वपाको जिल्ला अधिवेशनबाट सचिवमा दिपेन्द्र बिष्ट निर्वाचित भएका छन् । उनले ५८ मत प्राप्त गरेका छन् । सहसचिवमा २७ मत प्राप्त गर्दै प्रेम बाठा मगर निर्वाचित भएको बताइएको छ ।
जिल्ला अधिवेशनको निर्वाचनबाट सदस्यमा निरज गिरी, यमराज डाँगी, विनोद बटाला, लोकबहादुर गिरी र रमेश गिरी निर्वाचित भएका छन् ।
कल्पना बिक र सुनिता केसी भने निर्विरोध निर्वाचित भएको बताइएको छ । बालमन्दिरमा भएको रास्वपाको जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न पछि बन्द सत्र भएको थियो । तर अबेरसम्म नेतृत्व चयनमा सहमति नहुँदा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको रास्वपाले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असार ७ देखि ९ गतेसम्म पार्टीको प्रथम महाधिवेशनको मिति तय तय गरिसकेको छ ।