भरत चन्द
रुकुम पश्चिम -८, साउन ।
रुकुम पूर्वको भूमे गाउँपालिका -१, मा अवस्थित चुङुरी बुकी पछिल्लो समय आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, हिमशृंखलाको मनोरम दृश्य, र जैविक विविधताका कारण चुङुरी बुकी आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको हो ।

प्रचारप्रसारको अभावमा ओझेल परेको चुङुरी बुकी यो बर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा परेको यस क्षेत्रका जानकार बताउँछन् । खासगरी यहाँ पुग्ने आन्तरिक पर्यटकले सामाजिक संजालबाट गरेको प्रचारप्रसारका कारण पर्यटकको उपस्थित दिनहुँ बढ्दै गएको बताइन्छ ।
चुङुरी बुकी पुगेपछि धौलागिरी, माछापुच्छ्रे, पुथा हिमाल, सिस्ने हिमाल लगायतका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । चरीचरणको लागि बुकी उक्लेका भेडा बाख्राका बथानहरुसँग रमाउनुको साथै यो समयमा चारैतिर देखिने हरियाली र विविध रङ्गीचङ्गी फूलेका फूलहरुको सुगन्ध लिन सकिन्छ ।

समुद्री सतहदेखि चारहजार मिटरभन्दा बढि उचाइमा रहेको चुङुरी बुकी पुग्न रुकुम पुर्व र बाग्लुङको सिमाना पातिहाल्नेबाट करिब तीन घण्टाको उकालो पैदल यात्रापछि पुग्न सकिन्छ । पातिहाल्नेसम्म सिधा मोटर बाटो पुगेकाले त्यहाँ जाने पर्यटकका लागि केही सहज भएको छ ।
हालैको दिनहरुमा विभिन्न सामाजिक संजालहरुमा चुङुरी बुकीलाई कसैले चौंरी खर्क, कसैले चौंरी लेक त कसैले चौंरी बुकी भनेर प्रचार गरेको देखिन्छ ।