रमेश मल्ल
रुकुम पश्चिम -२८, चैत ।
मुसिकोट खलङ्गामा जिल्ला स्तरीय आयोजना प्रस्ताव छनोट सिफारिस समितिको बैठक आज सम्पन्न भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रलाय अन्तर्गतका विषयगत कार्यालयहरुको योजना सिफारिसका लागि बसेको बैठक सम्पन्न भएको हो ।
डिभिजन वन कार्यालयका कार्यालय प्रमुख शेर बहादुर परियारका अनुसार डिभिजन वन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र डिभिजन जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका योजना सिफारिसको लागि समितिको बैठक सम्पन्न गरिएको छ । सो बैठक कर्णाली प्रदेश सकारको आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि २०८१ को दफा ६ बमोजिम समितिको बैठक बसेको बताइएको छ ।
बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रस्तावित आयोजनाहरु सिफारिस गरी पठाएको छ ।
जिल्ला स्तरीय बैठकको अध्यक्षता कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश सभाका सांसद राज कुमार शर्माले गरेका थिए । कार्यक्रममा जिल्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गरेका सबै सांसद, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा सबै स्थानीय तहका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको जनाइएको छ ।
कार्यक्रमको सञ्चालन सिफारिस समितिका सदस्य सचिव तथा डिभिजन वन कार्यालयका कार्यालय प्रमुख शेर बहादुर परियारले गरेका थिए ।