रुकुम पश्चिम -२६, फागुन ।
त्रिभुवन विमानस्थलको मुख्यद्वारमा राष्ट्रिय झण्डा लिएर उपस्थित भएका हजारौं राजावादी समर्थकहरूको दृश्यलाई अब नेपाली चलचित्रमा देख्न पाइने भएको छ । केही दिन अघि मात्रै छायांकन सुरु गरिएको चलचित्र ‘माग्ने राजा’ मा राजावादी समर्थकहरूको प्रदर्शनलाई कैद गरिएपछि यो दृश्य चलचित्रमा देख्न पाइने भएको हो ।
चलचित्र निर्माण टिमका अनुसार चलचित्रमा पूर्वराजाको दृश्य भने कैद नगरिएको बताइएको छ । चलचित्रको मान्यता पार्टी भन्दा देश माथी हो भन्ने भएकोले राष्ट्रिय झण्डालाई चलचित्रको लागि क्यामेरामा कैद गरिएको बताइएको छ ।
चलचित्रमा राजावादीको राष्ट्रिय झण्डा सहितको भिडलाई सातवटा क्यामराबाट कैद गरिएको थियो । कैद गरिएको दृश्य चलचित्रमा दुई देखि तीन मिनेट मात्र देखाइने छ ।
आगामी तीजमा प्रदर्शन मिति तोकिएको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् । केदार र वर्षा जोडीको रुपमा प्रस्तुत भएको चलचित्रलाई मुनाल घिमिरेले निर्माण र नरेन्द्र मैनालीको छायांकन रहने छ । यसमा सामीप्यराज तिमल्सिनाको पटकथा तथा लेखन रहने छ ।
चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) सँगै चकलेटी अभिनेता आर्यन सिग्देल, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्गदेल, पुष्कर गुरुङ, मिस पबी लगायतका कलाकारको अभिनय छ ।