रुकुम पश्चिम -१०, साउन ।
सत्ताको ताबेदारीमा
स्वअस्तित्व गुमाएर
आफ्नै विवेकलाई
दरबारको ढोकामा बन्धकी राखेर
बौद्धिकतालाई तिलाञ्जली दिँदै
सामाजिक उत्तरदायित्वबाट
टाढा पन्छिएका,
सत्यभन्दा सत्ताको छायाँ रोजेका
प्रश्न गर्नुपर्ने ठाउँमा
जयजयकारमा रमाएका
र भाटगिरीलाई नै
बौद्धिकताको परिचय ठानेका
बौद्धिकहरू देखेर
उदेक लाग्छ ।
हिजोसम्म
एकअर्काका कट्टर विरोधी
एकअर्काका सिद्धान्तका
सबैभन्दा ठूला आलोचक
एकअर्कालाई देखाउँदै
जनताको भविष्यको
चिन्ता गर्नेहरू
आज अचानक
एउटै टेबलमा बसेर
सहमतिको मुस्कान बाँड्छन् ।
जनताले सोध्दैनन् र
यो सहमति
देशका लागि हो कि
कुर्सीका लागि?
यो मिलन
नीतिका लागि हो कि
नयाँ समीकरणका लागि?
यो हातेमालो
जनताको पीडामा मलम लगाउन हो कि
सत्ताको आयु लम्ब्याउन?
प्रश्नहरू उभिइरहन्छन्
तर प्रश्न गर्नेहरू
कहाँ छन्?
कतै उनीहरू
सत्ताको गल्लीमा
आफ्नै आवाज खोजिरहेका छन् कि?
कतै उनीहरू
हिजो लेखेका
आफ्नै शब्दहरू मेट्दै
आजको सुविधाको
नयाँ व्याख्या गरिरहेका छन् कि?
उदेक लाग्छ ।
जब विचारभन्दा
व्यक्तिको पूजा ठूलो हुन्छ
जब सिद्धान्तभन्दा
सत्ताको समीकरण बलियो हुन्छ
जब बिचार भन्दा
गोप्य सहमति शक्तिशाली हुन्छ
र जब जनताको मतभन्दा
नेताहरूको आपसी गणित
देशको भाग्य निर्धारण गर्न थाल्छ ।
हिजोका भाषणहरू
आजका सम्झनामा हराउँछन्
हिजोका आरोपहरू
आजका सहमतिमा बिलाउँछन्
हिजोका वाचा
आजको कुर्सीको छायाँमा
बिस्तारै हराउँदै जान्छन् ।
तर, जनता?
जनता त उही छन्
महँगीको हिसाब गर्दै
रोजगारीको खोजी गर्दै
पासपोर्टको लाइनमा उभिँदै
छोराछोरीको भविष्य सोच्दै
गाउँबाट सहर
सहरबाट विदेश
भविष्यको टिकट खोज्दै ।
उनीहरूलाई
कसले सोध्यो
आजको सहमतिको अर्थ?
उनीहरूलाई
कसले बुझायो
कुन सिद्धान्तको
कुन अध्यायमा
यो नयाँ मिलन लेखिएको थियो?
तर बौद्धिकहरू
मौन छन् ।
कलमहरू
कहिलेकाहीँ
सत्ताको संकेत कुर्छन्
शब्दहरू
कहिलेकाहीँ
पदको आश्वासन खोज्छन्
र विवेक
कहिलेकाहीँ
पुरस्कारको सूचीमा
आफ्नो नाम खोज्दै हराउँछ ।
त्यसैले त
उदेक लाग्छ ।
नेता र नेतृत्वमा हुनु
सत्ताको छेउमा उभिनु होइन
सत्तालाई प्रश्न गर्न सक्नु हो ।
नेता हुनु
शक्तिशालीको प्रशंसा गर्नु होइन
निर्बलको आवाज बन्न सक्नु हो ।
कलम हुनु
कसैको जयजयकार लेख्नु होइन
समयको अनुहारमा
सत्य लेख्न सक्नु हो ।
तर, यहाँ त
सत्य बोल्दा
‘विरोधी’ भइन्छ
प्रश्न गर्दा
‘अराजक’ भइन्छ
असहमति राख्दा
अवसरवादीको बिल्ला भिराइन्छ,
र मौन बसेर
सत्ताको प्रशंसा गर्दा
‘बौद्धिक’को सम्मान पाइन्छ ।
उदेक लाग्छ
आजको सहमति
भोलिको इतिहास बन्नेछ,
तर इतिहासले
सोध्नेछ
कुर्सी जोगाउन
कति पटक सिद्धान्त बिचार बेच्यौ?
सत्ता टिकाउन
कति पटक जनताको आवाज बिर्सियौ?
र तिमी
जो आफूलाई बौद्धिक भन्थ्यौ,
तिमीले कति पटक
सत्ताको अनुहार हेरेर
आफ्नो विचार बदल्यौ?
इतिहासले
यी प्रश्नहरू सोध्नेछ ।
त्यस दिन
न त सत्ता रहनेछ
न कुर्सी
न गठबन्धन
न सहमतिको कागज ।
रहनेछ त केवल
जनताको स्मृति
समयको साक्षी
र सत्यको कठोर फैसला ।
त्यसैले आज
फेरि उदेक लाग्छ
जब देशको राजनीति
विचारभन्दा समीकरणमा चल्छ
जब नेतृत्व
जनताभन्दा सत्ताको अंकगणितमा रमाउँछ,
जब विरोध
सहमतिको नाममा हराउँछ
जब सिद्धान्त
सुविधाको अगाडि झुक्छ
र जब बौद्धिकता
प्रश्न गर्ने साहस गुमाएर
भाटगिरीमा रमाउँछ ।
उदेक लाग्छ
तर आशा अझै मरेको छैन ।
किनकि
सत्ता बदलिन्छ,
समीकरण बदलिन्छ,
सहमति बदलिन्छ,
तर जनताको चेतना
एक दिन अवश्य जाग्छ ।
त्यो दिन
जयजयकार गर्नेहरूभन्दा
प्रश्न गर्नेहरू ठूलो हुनेछन् ।
कुर्सीको वरिपरि घुम्नेहरूभन्दा
सत्यको बाटो हिँड्नेहरू ठूलो हुनेछन् ।
र बौद्धिकताको अर्थ
कसैको ताबेदारी होइन,
समयको आँखामा आँखा जुधाएर
सत्य बोल्नु हो भन्ने
फेरि प्रमाणित हुनेछ ।
त्यो दिनसम्म
म हेर्नेछु,
तिमी हेर्नेछौ,
जनताले पनि हेर्नेछन् ।
आजको सहमति
कसको लागि थियो भनेर
र इतिहासले
सबैको हिसाब राख्नेछ ।
त्यसैले,
सत्ताको तावेदारीमा
स्वअस्तित्व गुमाएका
विवेकलाई बन्धकी राखेका
सामाजिक उत्तरदायित्वबाट
टाढा भागेका
र भाटगिरीलाई
बौद्धिकताको मुकुट ठानेका
सबै अनुहारहरू देखेर
उदेक लाग्छ ।