रुकुम पश्चिम -९, साउन ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडानम्बर -११, सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रले जितेको छ । आज भएको फाइनल खेलमा पोखरा युनाइटेडलाई ३-१ को सेटमा हराउँदै रुकुम भलिबल प्रशिक्षण केन्द्रले उपाधि जितेको हो ।
उपाधि जितेसँगै प्रशिक्षण केन्द्रले दुई लाख पुरस्कार सहित मेडल, प्रमाणपत्र र सिल्ड हात पारेको अध्यक्ष तेज बुढाले बताए । यसपटकको उपाधि जित सँगै लगातार तीन वर्ष उपाधि जितेर प्रशिक्षण केन्द्रले स्थायी रूपमा चाँदीको सिल्ड हात पारेको उनको भनाइ छ ।
प्रतियोगितामा उपविजेता बनेको पोखरा युनाइटेडले १ लाख प्राप्त गर्दा तेस्रो हुने भुमेले ५० हजार पुरस्कार राशि प्राप्त गरेको छ ।
श्री हिमालय श्रृङ्खला चौंरी युवा क्लबले आयोजना गरेको ३१ औँ वार्षिक उत्सव राँके मेला तथा विविध प्रतियोगिता सहितको कार्यक्रम साउन २ गते उद्घाटन भएको थियो ।