रुकुम पश्चिम -४, फागुन ।
चार महिनाको लामो मेहनतपछि बहुप्रतीक्षित चलचित्र ‘बलिदान’ को छायांकन सम्पन्न भएको छ। निर्माण टिमका अनुसार कठोर मेहनत र समर्पणका साथ चलचित्रको छायांकन कार्य शुक्रवार सम्पन्न भएको हो।
चलचित्र निर्माणका क्रममा कुनै पनि पक्षमा सम्झौता नगरिएको निर्माण पक्षले जनाएको छ। कथाको सिर्जना, कलाकारको छनोट, प्राविधिक पक्ष र प्रविधिमा उत्कृष्टता प्रदान गरिएको बताइएको छ। निर्माण पक्षका अनुसार चलचित्रको सम्पादन कार्यमा पनि कुनै सम्झौता गरिने छैन।
निर्माण टिमले दिनरात खटेर चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताउँदै टिमको मेहनतलाई प्रशंसा गरेको छ। निर्माण पक्षले भन्यो, “यस चलचित्रका लागि सबै टिमले जुन बलिदान दिए, त्यो सधैं अमर रहनेछ। आफ्ना व्यक्तिगत समस्यालाई पर सारेर देशका लागि केही गरौं भन्ने हुटहुटीले हामीलाई अघि बढायो।”
चलचित्रको अन्तिम दृश्य खिच्दै ‘बलिदान’ को छायांकन सकिएको हो। निर्माण टिमले चाँडै नै चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने बताएको छ।
निर्माण टिमले चलचित्रमा दर्शकले देखाएको सदासयताले थप ऊर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा पनि दर्शकको निरन्तर साथ पाइनेमा आफूहरू विश्वस्त रहेको उल्लेख गरेको छ।
नेपाली बजारमा उत्कृष्ट ब्यानरका चलचित्र दिदै आएका निर्माता सन्तोश सेनले ‘बलिदान’ ले समाज, राष्ट्रप्रतिको समर्पण र त्यागको भावनालाई उजागर गर्ने बताइएको छ ।