रुकुम पश्चिम -२७, साउन ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा सञ्चालित होप परियोजनाका समूह सदस्यलाई एक दिने नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ । परियोजनाको आयोजनामा एकसय ४८ जना सदस्यलाई तालिम दिइएको हो ।
होप परियोजनाका जलवायु न्याय अधिकृत टेकेन्द्र नेपालीका अनुसार सदस्यको नेतृत्व क्षमता, निर्णय गर्ने क्षमता, सञ्चार सीप तथा समूह व्यवस्थापन सीप विकास गरी समुदाय स्तरमा प्रभावकारी र समावेशी नेतृत्वको विकास गर्ने उद्देश्यले तालिम प्रदान गरिएको छ । त्यस्तै महिला, युवा, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको निर्णय प्रक्रिया र सामाजिक सरोकारका क्षेत्रमा अर्थपूर्ण सहभागिता बढाउन तालिमको आयोजना गरिएको हो ।
तालिम अन्तर्गत पालिकाको वडानम्बर -३ को प्रगतिशील कृषक समूह, वडानम्बर -४ को कालिका कृषक समूह, वडानम्बर -५ को बडगाउँ कुर्षक समुह, वडानम्बर -६ को मग्मा कृषक समूह, वडानम्बर -७ को कालाभैरव कृषक समूह र वडानम्बर -८ को हरियाली कृषक समूहका सदस्यहरूलाई तालिम दिइएको छ ।
तालिमबाट समूहका सदस्यको नेतृत्व, निर्णय क्षमता तथा जिम्मेवारी निर्वाह गर्ने क्षमता विकास हुनुका साथै प्रभावकारी सञ्चार, समन्वय, सहजीकरण तथा समूह व्यवस्थापन सम्बन्धी सीप सुदृढ भएको बताइएको छ ।
जिल्लाको बाँफिकोट र आठविसकोट नगरपालिकामा सञ्चालित होप परियोजनाले जलवायु परिवर्तन, विपद व्यवस्थापन, खाद्य सुरक्षा लगायत सामाजिक तथा आर्थिक सशक्तिकरणका क्षेत्रमा काम गरिरहेको छ ।
तालिमको सहजिकण जलवायु न्याय प्राविधिक दिपेन्द्र महताराले गरेका हुन् ।