रुकुम पश्चिम -९, असार ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जलवायु उत्थानशील समुदायहरूको प्रवर्द्धन होप परियोजनाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहयोगी हातहरूको समूह सहास नेपाल र ग्रामीण युवा सरोकार केन्द्रको साझेदारीमा सञ्चालन हुन लागेको परियोजनाको बारेमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई जानकारी गराइएको हो ।
कार्यक्रममा परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा लक्षित समुदायबारे जानकारी दिँदै परीयोजनाका जलवायु न्याय अधिकृत टेकेन्द्र नेपालीले कर्णाली प्रदेशका समुदायहरूको जीवनस्तर सुधार गर्न सामाजिक तथा आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै न्यायपूर्ण, समतामूलक र दिगो समाज निर्माणमा परियोजनाले काम गर्ने बताए ।
सन् २०२६ देखि २०२९ सम्म सञ्चालन हुने परियोजना जिल्लाको आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा कार्यान्वयन हुनेछ । परियोजना मार्फत जलवायु परिवर्तनबाट प्रभावित समुदायको उत्थानशीलता वृद्धि, सामाजिक समावेशीकरण र आर्थिक सशक्तीकरणमा काम गरिने संस्थाका सचिव भीमराज ओलीले जानकारी दिए ।
परियोजनाले जिल्लाका एकहजार ८ सय ५० घरधुरीलाई प्रत्यक्ष रूपमा समेट्ने लक्ष्य लिएको छ । दलित, महिला, अपाङ्गता भएका व्यक्तिका परिवार, एकल महिला, युवा तथा किशोरीहरूलाई केन्द्रमा राखेर ७४ वटा समूह र २४ वटा संवाद केन्द्र मार्फत गतिविधि सञ्चालन गरिने जनाइएको छ ।
परियोजना अन्तर्गत बाँफिकोट गाउँपालिकामा ३० वटा समूह र १० वटा संवाद केन्द्र गठन गरिनेछन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले जलवायु परिवर्तनका कारण बढ्दो जोखिम न्यूनीकरण तथा समुदायको क्षमता अभिवृद्धिमा परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।
पालिका उपाध्यक्ष बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरू, विभिन्न विषयगत शाखाका प्रमुखहरू, होप परियोजनाका परियोजना संयोजक बिसना थापा , परियोजना अधिकृत टेकेन्द्र नेपाली, ग्रामीण युवा सरोकार केन्द्रका सचिव भीमराज ओली लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन जलवायु न्याय प्राविधिक दिपेन्द्र महताराले गरेका थिए ।
आठविसकोट नगरपालिकामा भने यस अघि नै होप परियोजनाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।