रुकुम पश्चिम -५, चैत ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार गोपाल शर्मा ‘अनलले’ आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेर चुनाव जितेका शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार निर्वाचन खर्च सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको निर्वाचन खर्च १५ लाख पाँच हजार २ सय ५० मात्रै रहेको छ । शर्माले आफ्नो निर्वाचन खर्च पाँवटा शीर्षकमा गरेका छन् । जसमध्ये सबैभन्दा बढी प्रचारप्रसार सामग्रीमा ७ लाख ४० हजार र सबैभन्दा कम अडियो भिडियो उत्पादन तथा प्रसारणमा ६२ हजार खर्च गरिएको छ ।
शर्माले निर्वाचनमा भएको उक्त खर्च विवरण जिल्ला निर्वाचन कार्यालयलाई बुझाइ सकिएको जानकारी दिएका छन् ।
निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा भएको मितिले पैँतीस दिनभित्र निर्वाचन खर्च विवरण पेश गरी निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ ।
यदि निर्वाचन खर्चको विवरण नबुझाए वा सार्वजनिक नगरे आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम सम्बन्धित पार्टी र उम्मेदवारलाई कारबाही गर्दछ ।