रुकुम पश्चिम -१३, माघ ।
नेकपा एमाले रुकुम पश्चिमले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रगतिशिल पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । आज मुसिकोट स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पार्टी केन्द्रको निर्णयलाई अनुमोदन गर्दै प्रलोपा उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।
एमाले सचिवालय बैठक लगत्तै पत्रकार सम्मेलन मार्फत दुई पार्टी बिच भएको चुनावी सहमतिलाई जिल्ला पार्टीले अनुमोदन गरेको एमालेले बताएको छ । अब एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई जिताउन आँखा चुनाव चिन्हमा मतदान गर्ने निर्णय गरेको छ ।
सोही निर्णय अनुसार रुकुम पश्चिम पार्टीले केन्द्रको निर्देशनलाई भद्र सहमतिका साथ पालना गर्ने जनाएको छ । आगामी निर्वाचनका लागि नेकपा एमाले र प्रलोपा बिच माघ ११ गते चुनावी तालमेल गरेर जाने केन्द्रीय सहमति भएको थियो ।
दुई पार्टी बीच भएको उक्त केन्द्रीय सहमति अनुसार रुकुम पश्चिम बाहेक कर्णाली प्रदेशका सबै जिल्लामा प्रत्यक्षतर्फ प्रलोपाले एमालेलाई सघाउने सहमति गरेको छ ।
तर समानुपातिक तर्फ भने दुवै पार्टीले आआफ्नै चुनाव चिन्हमा मतदान गर्नेछन् ।