रुकुम पश्चिम -९, मङ्सिर ।
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस विविध कार्यक्रम आयोजना गरी सुरु गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन सम्म मनाइने यो दिवस आजदेखि सुरु गरिएको छ ।
विश्वव्यापी रूपमा लैङ्गिकतामा आधारित हिंसा विरुद्ध १६ दिने अभियान १६ दिन सम्म विभिन्न कार्यक्रम गरी अभियानको रुपमा मनाइन्छ । सन् १९९१ मा महिलाहरूको विश्वव्यापी नेतृत्व संस्थानले यस अभियानको आयोजना गरेको थियो ।
अहिले यो दिवस विश्वका १ सय ८७ देशहरूले अभियानका रूपमा मनाउँदै आएका छन् ।
यसैगरी आज मुसिकोट नगरपालिका रुकुम पश्चिमले पनि लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु गरेको छ । मुसिकोट बजारमा प्रभात फेरी निकालेर ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको छ । नगर प्रमुख महेन्द्र केसी र सरोकारवाला निकायको उपस्थितिमा अभियान उद्घाटन गरिएको हो ।
मुसिकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका अनुसार १६ दिनसम्म चल्ने यो अभियानमा विविध कार्यक्रम सञ्चालन गरिने छ । जसअनुरूप मङ्सिर १५ गते लागु औषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रम त्रिभुवन जनता मावि खलङ्गामा सञ्चालन गरिनेछ ।
त्यस्तै मङ्सिर १९ गते महेन्द्र मावि छिवाङ चौतारामा बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । मङ्सिर २१ गते सोलाबाङमा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ । सोही कार्यक्रम मङ्सिर २२ गते मुसिकोट नगरपालिका ७ साँखमा सञ्चालन गरिने नगरपालिकाले बताएको छ ।
१६ दिने अभियानको अन्तिम दिन अर्थात् मङ्सिर २४ गते बालमन्दिर प्राङ्गणमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने शीर्षकमा नगरपालिका स्तरीय मावि वक्तृत्व कला सञ्चालन गरेर अभियान समापन गरिनेछ ।