रुकुम पश्चिम -१५, कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५, थर्पूमा अवस्थित डिग्रेशाईकुमारीमा आज देखि पूजापाठ सुरु भएको छ । हरिबोधिनी एकादशी देखि पूर्णिमाको दिनसम्म विशेष पूजाआजा गरिने मन्दिरमा विधिवत ढङ्गले पूजापाठ सुरु भएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीका अनुसार शाईकुमारी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको बाक्लो भिड लागेको छ । डिग्रे शाईकुमारी मन्दिरमा पूजापाठ गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । पाँच दिनसम्म मूल पर्वको रूपमा विशेष पूजापाठ हुने शाई कुमारी मन्दिरमा देश विदेशबाट श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति हुने गर्दछ ।
कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक स्थल डिग्रेशाईकुमारीमा पूजापाठ सहित पूर्णिमाको दिनमा भव्य रूपमा मेला लाग्ने गर्दछ । मेलाको अन्तिम दिन सखालले लाठी नाच प्रदर्शन गरे सङ्गै विधिवत रूपमा डिग्रे मेला समापन गरिन्छ ।
डिग्रे मन्दिरमा बाह्रैमास पूजापाठ हुँदै आएपनि मूल पर्वको रुपमा (पाँच दिन) अर्थात् एकादशी देखि पूर्णिमाको दिन सम्म पूजापाठ सहित मेला लाग्ने गर्दछ ।