रुकुम पश्चिम -९, असोज ।
निर्वाचन आयोग नेपालले मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको हो ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य आयोगको निर्णय अनुसार कात्तिक ३० गतेसम्म पुनः सञ्चालन हुने भएको छ । मतदाता नामावलीमा यस अघि नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकले सम्बन्धित निर्वाचन कार्यालयमा नामदर्ता गर्नेछन् ।
त्यसका लागि आयोगले सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा दर्ता गर्न सकिने गरी व्यवस्था गरेको छ । आयोगको वेवसाइट www.election.gov.np मा प्रि-रजिष्ट्रेशन प्रणाली (applyvr.election.gov.np) बाट आवेदन भरी प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा जैविक (Biometric) विवरण उपलब्ध गराउनुपर्नेछ ।
आयोगले कानून बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकले आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्थाका अतिरिक्त विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका, मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने व्यवस्था समेत मिलाइएको जनाएको छ ।