काठमाडौँ -२४, भदौ ।
सरकारविरुद्ध चर्किएको आन्दोलन देशभरि आगजनी र तोडफोडमा परिणत भएको छ । संवेदनशील मानिएका प्रमुख दलका शीर्ष नेताहरुको निवास तथा पार्टी कार्यालय सुरक्षाकर्मीको नियन्त्रण बाहिर पुगेको छ ।
आन्दोलनकारीहरुले राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास र प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी गरेका छन् । यस्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठ निवासमा आगजनी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार स्थित निवासमा तोडफोड भएको छ ।
मन्त्री निवास भैंसेपाटीमा समेत आगजनी भएको छ भने परराष्ट्रमन्त्री आरजु राणा देउवाको धनगढीस्थित घर, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठी स्थित निवास, ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठ स्थित घरमा पनि आगजनी भएको छ ।
त्यस्तै, कांग्रेस महामन्त्री गगन थापाको रातोपुल स्थित निवास, एमाले सचिव रघुविर महासेठको घरमा समेत आगजनी भएको छ । एमाले नेता सुरेन्द्र पाण्डेको निवासमा पनि तोडफोड गरिएको छ ।