रुकुम पश्चिम -१, असार ।
आज सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रदेश सभामा प्रस्तुत गर्ने छन् । असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार सातवटै प्रदेशको बजेट सार्वजनिक हुने छ ।
प्रदेश सरकारहरुले भौतिक पूर्वाधार निर्माणसंगै पूँजीगत खर्च अभिवृद्धि हुनेगरी बजेट ल्याउने तयारी गरेका छन् । संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेशका लागि वित्तीय समानीकरण अनुदान ६० अर्ब ६६ करोड रुपैँया विनियोजन गरेको छ ।
त्यसैगरी सशर्त अनुदान ३० अर्ब ३५ करोड, समपूरक अनुदान ३ अर्ब २८ करोड र विशेष अनुदान ३ अर्ब २७ करोड रुपैँया छुट्याइएको छ । संघीय सरकारले राजस्व बाँडफाँट र अनुदान गरी प्रदेश र स्थानीय तहमा आगामी आर्थिक वर्षमा ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैँया हस्तान्तरण हुने संघीय सरकारले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि सात वटै प्रदेश सरकारहरुले दुई खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँको बजेट ल्याएका थिए । सबै प्रदेशहरुमा प्रभावकारी ढंगबाट पुँजीगत खर्च हुन नसक्ने समस्या देखिएको छ ।
प्रदेश सरकारहरुले पुँजीगत खर्च गर्न सक्ने क्षमताको अभिवृद्धि र भौतिक पुर्वाधार निर्माणको खर्चलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेका छन् ।