रुकुम पश्चिम -२४, जेठ ।
रुकुम पश्चिमको बराह टाकुरामा जारी तेस्रो रुकुम कप भलिबलमा आज लिग चरणका अन्तिम खेल हुँदै छन् ।
जेठ १८ गते सुरु भएको पालिका स्तरीय पुरुष तथा खुल्ला महिला प्रतियोगितामा पुरुषतर्फ लिग चरणका अन्तिम खेल हुने आयोजकले बताएको छ ।
प्रतियोगिताको सातौँ दिन आज चारवटा खेल हुने रुकुम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले बताए ।
जसअन्तर्गत पहिलो खेल हाम्रो सरोकार र टिम खनाल, दोस्रो बनगाड कुपिण्डे (अमित फेन्सी) र टिम खनाल, तेस्रो टिम खनाल र बौदीकाली तथा चौथो खेल हाम्रो सरोकार र बौदीकाली बिच हुने छ ।
लिग चरणको अन्तिम खेलबाट अङ्कतालिकाको पहिलो र दोस्रो हुने दुई टिम फाइनलमा पुग्नेछन् । त्यस्तै अङ्कतालिकामा तेस्रो र चौथो हुनेले तेस्रो स्थानका लागि खेल्नेछन् । खेल अहिले बिहान १० बजेदेखि सुरु हुने छ ।
प्रतियोगितामा पालिका स्तरीय पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।उप विजेताले २ लाख ९१ हजार पाउँदा तेस्रोले १ लाख ५१ हजार र सान्त्वना हुने टिमले १ लाख ११ हजार पुरस्कार पाउने सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
त्यस्तै खुल्ला महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ५० हजार सान्त्वना टिमले २५ हजार पुरस्कार सहित कप, मेडल र प्रमाणपत्रको पाउने आयोजकको भनाइ छ ।