रुकुम पश्चिम -२२, वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमले आज जिल्लाका ६ वटै पालिकामा मागपत्र बुझाएको छ । चैत १ गते देखि सुरु गरिएको पहिलो चरणको देशव्यापी कार्यक्रम अन्तरगत रहेर सबै पालिकामा मागपत्र बुझाएको हो ।
जिल्ला पार्टी अध्यक्ष सुरज कुमार परियारका अनुसार पार्टी केन्द्रको निर्णय अनुसार “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नारा सहित जिल्ला स्थित गाउँपालिका र नगरपालिकामा मागपत्र बुझाइएको छ ।
मागपत्रमा सम्बन्धित पालिकाको शिक्षा, स्वास्थ्य, यातायात, गरिवी, भ्रष्टाचार लगायत विभिन्न क्षेत्रमा देखिएका समस्यालाई उठान गरिएको छ ।
जसअन्तर्गत सुशासन र रोजगारीलाई नै प्रमुख मुद्दाको रुपमा राखिएको पार्टी अध्यक्ष परियारले बताए । सोही अनुरूप प्रत्येक पालिकाले प्रस्तुत गर्ने आगामी नीति तथा कार्यक्रममा मागपत्रमा समेटिएका विषयवस्तुहरू राख्न आग्रह गरिएको छ ।
त्यस्तै मागपत्रमा सम्बन्धित पालिकाको प्राकृतिक स्रोत र साधनका रुपमा रहेको जल, जमिन, जंगल र जडिबुटीलाई उपयोग गर्ने गरी नीति तथा कार्याक्रमको तर्जुमा गरी कार्यान्वयन गर्न भनिएको छ । यसैगरी जनताको पहुँच हुने गरी कृषि, सडक, यातायात, पर्यटन, खानेपानी लगायत क्षेत्रका समस्यालाई सुधार गर्नुपर्ने माग राखिएको छ ।
नेकपा एसको मागपत्र बुझ्दै सम्बन्धित पालिकाका प्रमुख तथा अध्यक्षले मागपत्रमा उठाइएका विषयवस्तु महत्वपूर्ण रहेको बताउँदै पालिकाले प्रस्तुत गर्ने नयाँ नीति तथा कार्यक्रममा समावेश गरिने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले चैत १ गते देखि वैशाख २५ गते सम्म पहिलो चरणको आन्दोलन सञ्चालन गरिरहेको छ । सोही सार्वजनिक कार्यक्रम अनुसार आज देशैभरका सबै स्थानीय तहमा मागपत्र बुझाउने कार्यक्रम रहेको थियो ।
जस अनुरूप रुकुम पश्चिम स्थित जिल्ला पार्टी र मातहत कमिटीले ६ वटै पालिकामा पुगेर मागपत्र बुझाएका छन् ।