रुकुम पश्चिम -१९, वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमले आज जिल्ला प्रशासनलाई मागपत्र बुझाएको छ । चैत १ गते देखि सुरु गरिएको पहिलो चरणको कार्यक्रम अन्तरगत रहेर ४६ बुँदे मागपत्र प्रशासनलाई बुझाएको हो ।
जिल्ला पार्टी अध्यक्ष सुरज कुमार परियारले पार्टी केन्द्रको निर्णय अनुसार “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने नारा सहित प्रशासनलाई मागपत्र बुझाएको बताए ।
मागपत्रमा जिल्लाको शिक्षा, स्वास्थ्य, यातायात, गरिवी, भ्रष्टाचार लगायत विभिन्न क्षेत्रमा देखिएका समस्यालाई उठान गरिएको छ । जसमध्ये पनि सुशासन र रोजगारीलाई नै प्रमुख मुद्दाको रुपमा राखिएको पार्टी अध्यक्ष परियारले बताए ।
“संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मर्म सुशासन र रोजगारी हो । सुशासन र रोजगारीको माध्यमबाट नै संविधानले देखाएको बाटोबाट प्रगतिशिल समाजवादमा पुग्न सकिन्छ, सो माग पत्रमा भनिएको छ ।”
त्यस्तै मागपत्रमा जिल्लाको प्राकृतिक स्रोत र साधनका रुपमा रहेको जल, जमिन, जंगल र जडिबुटीलाई उपयोग गर्ने गरी नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयन गर्न भनिएको छ । त्यस्तै कृषि, सडक, यातायात लगायत क्षेत्रका समस्यालाई सुधार गर्नुपर्ने माग राखिएको छ ।
नेकपा एसको मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कुल बहादुर जिसीले मागपत्रमा उठाइएका विषयवस्तु अहिलेको अवस्थामा महत्वपूर्ण रहेको बताए । प्रशासनबाट हुने समन्वय र सहजीकरणमा कुनै कमी नहुने उनको भनाई छ ।
नेपाल कम्युनिस्ट पार्टी हाल एकीकृत समाजवादीले चैत १ गते देखि वैशाख २५ गते सम्म पहिलो चरणको आन्दोलन सञ्चालन गरिरहेको छ । सोही सार्वजनिक कार्यक्रम अनुसार आज ७७ वटै जिल्ला प्रशासनमा जिल्ला स्थित नेकपा एस पार्टीले मागपत्र बुझाएका छन् ।