रुकुम पश्चिम -२१, असोज ।
रुकुम पश्चिमका ६ वटै पालिकामा रहेका १९ वटा स्वास्थ्य संस्थाहरूलाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थामा संक्रमणको जोखिम न्यूनीकरण गर्दै सुरक्षित तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन केही दिनअघि सामग्री हस्तान्तरण गरिएको हो ।
अमेरिकी सरकारको आर्थिक सहयोग र नेपाल जनजागरण मञ्चको सहकार्यमा सञ्चालित (इपिक) नेपाल परियोजना अन्तर्गत मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रमको सुदृढीकरणका लागि स्वास्थ्य संस्थाहरूमा संक्रमण रोकथाम तथा नियन्त्रणका अभ्यासलाई सुदृढ गर्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको छ ।
स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राही तथा स्वास्थ्यकर्मीलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्न, स्वास्थ्यजन्य फोहोरको उचित वर्गीकरण तथा व्यवस्थापन गर्न र सरसफाइ तथा स्वच्छताको अभ्यासलाई प्रभावकारी बनाउन सामग्री वितरण गरिएको कार्यक्रम संयोजक दिलिप कुमार ईश्वरले जनाएका छन् ।
स्थ्य संस्था अन्तर्गत बर्थिङ सेन्टर र आधारभूत आकस्मिक प्रसुति केन्द्र लाई तीन रङ्गका डष्टबिन, ५ प्याकेट मास्क, किटनाशक स्यानिटाइजर, टप ग्लोबस् लगायत संक्रमण रोकथामका सामग्रीहरु हस्तान्तरण गरिएको बताइएको छ । विशेषगरी स्वास्थ्यजन्य फोहोरलाई स्रोतमा नै उचित रूपमा छुट्याई व्यवस्थापन गर्न र स्वास्थ्य संस्थामा सुरक्षित वातावरण कायम गर्न संकेतयुक्त डस्टबिनको प्रयोगमा जोड स्वास्थ्य संस्थालाई दिँदै सामग्री उपलब्ध गराइएको छ ।
सामग्री हस्तान्तरणका क्रममा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीलाई सामग्रीको उचित प्रयोग, सुरक्षित व्यवस्थापन तथा नियमित उपलब्धता सुनिश्चित गर्ने विषयमा समेत जानकारी गराइएको छ । स्वास्थ्य संस्थामा (IPC) का मापदण्डलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न स्वास्थ्यकर्मी, व्यवस्थापन पक्ष तथा सम्बन्धित सरोकारवालाबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।
कार्यक्रमले स्वास्थ्य संस्थामा उपलब्ध स्रोत-साधनको प्रभावकारी उपयोग मार्फत संक्रमणको जोखिम घटाउने, स्वास्थ्यकर्मी तथा सेवाग्राहीको सुरक्षा बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सुरक्षित स्वास्थ्य संस्था निर्माण गर्ने अपेक्षा गरेको छ ।
स्वास्थ्य संस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका आधारभूत अभ्यासलाई नियमित र प्रभावकारी बनाउन यस्ता सामग्रीको उपलब्धतासँगै सही प्रयोग, नियमित अनुगमन र संस्थागत प्रतिबद्धता आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा विकास साझेदारबीचको सहकार्यबाट (IPC) अभ्यासलाई थप सुदृढ गर्दै जिल्लामा सुरक्षित स्वास्थ्य संस्था र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको वातावरण निर्माण गर्ने लक्ष्य लिइएको छ ।

