रमेश मल्ल
रुकुम पश्चिम -१२, वैशाख ।
आठबिसकोट नगरपालिका -१४, ज्यामिरकोटमा ३५औं विविध खेलकुद तथा सांस्कृतिक पूर्णिमा मेला लाग्ने भएको छ । पूर्णिमा मेला आयोजक समितिको आयोजनामा वैशाख २७ गतेदेखि खेलकुद सहितको सांस्कृतिक मेला लगाउन लागिएको हो ।
आयोजकका अनुसार हरेक वर्ष लाग्दै आइरहेको पूर्णिमा मेला तीन दिनसम्म सञ्चालन गरिने भएको छ । पूर्णिमा मेलामा पुरुष तर्फ खुला वडा स्तरीय भलिबल प्रतियोगिता हुने आयोजक समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए ।
उनका अनुसार पुरुष भलिबलको प्रथम हुनेले ४० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै कप, मेडल र प्रमाणपत्र समेत उपलब्ध गराइने छ ।
भलिबल प्रतियोगितामा सहभागी हुने टिमले २७ गते दिउँसो १२ बजे सम्म दर्ता गर्नुपर्नेछ । दर्ता शुल्क चार हजार तोकिएको आयोजक समितिका अध्यक्ष बिरेन्द्र मल्लले बताए ।
भलिबल प्रतियोगिता सँगै पूर्णिमा मेलामा रस्साकसी (महिला/पुरुष) घैँटो फोर, सटपुट, भाले तान्ने लगायत अन्य प्रतियोगिता राखिएको छ ।
त्यस्तै सांस्कृतिक कार्यक्रमहरू धामी नाच, सिँगारु नाच, मयुर नाच, पन्चेबाजा, खुल्ला नृत्य तथा लोकदोहोरी प्रतियोगिता सहित स्थानीय एवं राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने सांस्कृतिक संयोजक गौरव मल्लले जानकारी दिए ।