रुकुम पश्चिम -२९, चैत ।
रुकुम पश्चिमको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । उत्पादन, निर्माण तथा उद्यमका लागि गरिने उद्योग दर्ताको सङ्ख्या घट्दै गएको हो ।
कार्यालयका सूचना अधिकारी शेरबहादुर ओलीका अनुसार कार्यालयमा दर्ता हुने उद्योगको आधारमा पछिल्लो समय उद्योगीको सङ्ख्या कम हुँदै गएको पाइएको छ । उद्योग दर्तापछि उद्यमीले उत्पादन गर्ने वस्तु र सेवाको बजारीकरणमा समस्या हुँदा यस्तो समस्या आएको ओलीको भनाइ छ ।
अर्को तर्फ युवा पंक्ति वैदेशिक रोजगार तथा अध्ययनका लागि देश बाहिर जाने लहरका कारण पनि नयाँ उद्योगीको सङ्ख्या घट्दै गएको छ ।
यसरी उद्योग दर्ताको सङ्ख्या घट्दै जाँदा कार्यालयको राजस्व सङ्कलनमा समेत कमी हुँदै गएको बताइएको छ ।
तर, स्थानीय सरकार निर्माणपछि गत वर्षदेखि केही साना उद्योगहरु स्थानीय तहमै दर्ता हुने गरेको कार्यालयले बताएको छ । जसका कारण जिल्ला स्थित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा उद्योग दर्ताको सङ्ख्या घटेको हुन सक्ने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्ष देखि हालसम्म ९४ उद्योग दर्ता
यस कार्यालयमा चालु आर्थिक वर्षदेखि हालसम्म ९४ वटा उद्योग दर्ता भएका छन् । वाणिज्य तर्फ २९ र उद्योग तर्फ ६५ वटा दर्ता भएका छन् ।
त्यसैगरी स्थानीय तहमा दर्ता गरिएका उद्योग बाहेक यहाँको कार्यालयमा हालसम्म वाणिज्य दर्ता दुईसय ९० र उद्योग दर्ता एकहजार पाँचसय ८६ वटा रहेका छन् ।
कार्यालयले दिएको जानकारी अनुसार स्थानीय तहमा उद्योग तर्फ तीन लाख भन्दा कम र वाणिज्य तर्फ दश लाख भन्दा तलको व्यवसाय मात्रै दर्ता हुने गरेका छन् । सोभन्दा माथिका उद्योगहरू उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिममा दर्ता हुँदै आएका छन् ।
यस कार्यालयले विभिन्न समयमा उद्योग वाणिज्य सम्वन्धी घुम्ती शिविर पनि सञ्चालन गर्दै आइरहेको छ । शिविरमा व्यवसाय दर्ता, नामसारी, पुँजी वृद्धि, ठाउँ सारी र उद्देश्य थप सम्वन्धी सेवा प्रदानका काम हुने कार्यालय प्रमुख रमेश वलीको भनाइ छ ।