जाजरकोट -२५, चैत ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आजको गणतन्त्रले रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताएका छन् । नेकपा (एस) जाजरकोट जिल्लाको छैठौँ जिल्ला अधिवेशनमा बोल्दै नेता भुसालले गणतान्त्रिक व्यवस्थाले जनतामा रोजगारी सिर्जना गर्न नसक्दा भ्रष्टाचार मौलाउँदै गएको बताएका हुन् ।
अस्थिर अवस्थामा रहेको गणतन्त्रका कारण जनतामा निराशा बढ्दै गएको र भ्रष्टाचार संस्थागत हुँदै गएको भुसालको भनाइ छ । समावेशिताका हिसाबले भारतको भन्दा निकै राम्रो संविधान भएको मुलुकमा कामको ग्यारेन्टी नहुँदा जनता गरिब हुँदै गएको उनको भनाइ छ ।
“संविधानमा कामको ग्यारेन्टी भनेका छौं, तर त्यसलाई मूलभूत रुपमा नै छुटायौं, त्यसैले जनतालाई धनी बनाउन सकिएन । जसका कारण राजा र प्रजातन्त्रले सुनिश्चित गर्न नसकेको रोजगारी र भ्रष्टाचार अन्त्य अहिलेको गणतन्त्रले समेत गर्न नसकेको भुसालले बताए ।”
त्यस्तै नेता भुषालले १५ गतेको आन्दोलनपछि राजावादीको ढाड भाँचिएको बताएका छन् । आन्दोलनमा दुर्गा प्रसाईलाई देखाएर राजतन्त्र आउन नसक्ने भएकाले यस्ता आन्दोलनको कुनै अर्थ नरहने उनको भनाइ छ ।
यसैगरी नेपाली कांग्रेस विचार र सिद्धान्त विहीन पार्टी भएको, माओवादीले माओवाद व्याख्या गर्न नसकेको र नेकपा एमाले झनै केपी ओलीको सर्वसत्तावादका कारण पतनको बाटोमा गएको ठोकुवा गरे । सिद्धान्त र एजेन्डा विहीन यी पार्टी र अन्य क्षेत्रीयताको विचार बोक्ने पार्टीकै कारण मुलुक ठूलो दुर्घटनामा जान सक्ने नेता भुषालले बताए ।
अब मुलुकलाई यस खालको दुर्घटनाबाट बचाउन नेकपा एकीकृत समाजवादीले कोरेको बाटोमा सबै राजनीतिक दल आउनुपर्ने बताए । तब मात्र देशमा रोजगारी सिर्जना र भ्रष्टाचारको अन्त्य हुने नेता भुसालको भनाइ छ ।