रुकुम पश्चिम -२२, रुकुम पश्चिम ।
नेपाली कला साहित्य डटकम प्रतिष्ठान ललितपुरको आयोजना र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको सहआयोजनामा जिल्लाव्यापी ठाडीभाका प्रतियोगिता सुरु भएको छ । सिर्जना उत्सव कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा जिल्लाव्यापी ठाडी भाका प्रतियोगिता सुरु भएको हो ।
राप्ती साहित्य परिषद्का अध्यक्ष मनलाल ओलीका अनुसार सिर्जना उत्सवको आज पहिलो दिन ठाडी भाका प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा पाँचवटा टिमले आफ्नो प्रस्तुति राख्ने छन् । प्रतियोगिता आजै सकिने बताइएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार तोकिएको छ । त्यस्तै द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना दुईजनालाई पाँच-पाँच हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
यो कार्यक्रममा नेपाली कला साहित्य डटकम प्रतिष्ठानका २० जनाभन्दा बढी साहित्यकारको उपस्थिति रहेको छ । कार्यक्रमको आर्थिक व्यवस्थापन त्रिवेणी गाउँपालिकाले गरेको छ ।
सिर्जना उत्सवको दोस्रो दिन भोलि शनिबार सदरमुकाम मुसिकोटमा जिल्लाव्यापी खुला कविता प्रतियोगितामा सञ्चालन गरिने भएको छ ।