रुकुम पूर्व -१६, चैत ।
एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूमे गाउँपालिका रुकुम पूर्वका बिमित पूर्ण बिकको निधनपछि उनका परिवारलाई शनिबार बिमा रकम हस्तान्तरण गरेको छ । बिमा योजना अन्तर्गत मृतकका छोरा अनिल बिकलाई पाँचलाख ४८ हजार सातसय पाँच रुपैयाँ हस्तान्तरण गरिएको हो ।
कम्पनीका रुकुम पश्चिम शाखा प्रमुख याजन रोकाका अनुसार स्वर्गीय बिकले आजीवन बिमा योजना रकम अन्तर्गत पाँच लाखको २० वर्षे बिमा योजना लिएका थिए । उनले दुई किस्तामा ५८ हजार दुईसय ४६ रुपैयाँ बिमा शुल्क तिरेका थिए । बिमा अवधिभर आर्जित बोनस तथा ब्याज जोडेर मृत्युपछि बिमा कम्पनीले परिवारलाई उक्त रकम भुक्तानी गरेको हो ।
बिमा रकम हस्तान्तरण कार्यक्रममा बिमा कम्पनीका रुकुम शाखा प्रबन्धक याजन रोकाले मृतक बिमितका छोरा अनिल बिकलाई चेक प्रदान गरेका छन् । कार्यक्रममा स्थानीयबासी तथा बिमा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बिमा योजनाले मृतकका परिवारलाई आर्थिक रूपमा केही राहत प्रदान गर्ने अपेक्षा गरिएको छ । बिमा योजनामा सहभागी भई भविष्यमा आउने अप्ठ्यारो परिस्थितिमा सुरक्षित रहने सन्देश पनि कार्यक्रम मार्फत दिइएको थियो ।