रुकुम पश्चिम -२५, फागुन ।
नेपाली कला साहित्य डटकम प्रतिष्ठान काठमाडौँको आयोजना र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको सहआयोजनामा हुने जिल्लाव्यापी खुल्ला कविता र ठाडीभाका प्रतियोगिताको पुरस्कारराशि निर्धारण गरिएको छ । आगामी चैत २२ र २३ गते त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकामा आयोजना गर्न लागिएको बृहत प्रतियोगिताका लागि पुरस्कारराशि निर्धारण गरिएको हो ।
राप्ती साहित्य परिषद्का अध्यक्ष मनलाल ओलीका अनुसार सिर्जना उत्सवमा आयोजित खुल्ला कविता प्रतियोगिताका लागि प्रथम पुरस्कार २५ हजार तोकिएको छ । त्यस्तै द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना दुईजनालाई पाँच-पाँच हजार पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी खुल्ला ठाडीभाका प्रतियोगितातर्फ पनि प्रथम पुरस्कार २५ हजार तोकिएको छ । त्यस्तै द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना दुईजनालाई पाँच-पाँच हजार पुरस्कार प्रदान गरिने भएको छ ।
सिर्जना उत्सवको सिलसिलामा हुने जिल्लाव्यापी खुल्ला कविता प्रतियोगितामा भाग लिन इच्छुक रचनाकारले कविता प्रतियोगिताका लागि नजिकको माध्यमिक विद्यालय, क्याम्पस वा राप्ती साहित्य परिषद्को ठेगानामा रचना पठाउन सकिनेछ । त्यस्तै खुल्ला ठाडी भाका प्रतियोगिता (एकल वा समूह) मा भाग लिन चाहनेले त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुका शिक्षक मोहनराज घर्तीलाई सम्पर्क गर्न सकिने अध्यक्ष ओलीले बताएका छन् ।
मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा उक्त सिर्जना उत्सव कार्यक्रम चैत २२ गते त्रिवेणी गाउँपालिकाको सिम्रुतु र २३ गते मुसिकोटमा आयोजना गरिने बताइएको छ ।
जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता जिल्ला सदरमुकाम मुसिकोट खलङ्गा र खुल्ला ठाडी भाका प्रतियोगिता सिम्रुतुमा आयोजना गर्ने गरी स्थान निर्धारण गरिएको छ ।
यो कार्यक्रममा नेपाली कला साहित्य डटकम प्रतिष्ठानका २० जनाभन्दा बढी साहित्यकारको उपस्थिति रहनेछ ।
सिर्जना उत्सव कार्यक्रमलाई भव्य रूपमा आयोजना गर्न मूल समारोह समितिको काम राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले गरेको छ । यसैगरी साहित्यकार पूर्ण ओलीको संयोजकत्वमा आर्थिक स्रोत साधन व्यवस्थापन एवम् प्रचार-प्रसार समितिले हाल विभिन्न सहयोगीबाट आर्थिक सङ्कलन गरिरहेको राप्ती साहित्य परिषद् रुकुम पश्चिम शाखाले जनाएको छ ।
