रुकुम पश्चिम -२३, फागुन ।
नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रीको जिम्मा लिएको कम्पनी एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँट भएको हो ।
गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता एकसय रुपैयाँ अंकित मूल्यका दरले १८ लाख ४५ हजार कित्ता साधारण शेयर कम्पनीले निष्काशन गरेको थियो । सो, शेयरमा कुल १८ लाख १७ हजार एक सय ४८ जनाले दुई करोड २४ लाख ४६ हजार तीनसय ५० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
जसमध्ये दश हजार तीनसय ८६ आवेदन रद्द भएको छ भने बाँकी १८ लाख ६ हजार सातसय ६२ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको छ । जसअनुसार कुल एकलाख ८४ हजार पाँचसय आवेदकले दश कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।