रुकुम पश्चिम -२०, फागुन ।
सानीभेरी गाउँपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिकको पाँच दिने भ्रमण अवलोकन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । फागुन १५ गतेबाट सुरु भई बागलुङ, म्याग्दी, मुस्ताङ, पर्वत र पोखराका विभिन्न धार्मिक तथा रमणीय स्थलहरूको अवलोकन गर्दै सोमबार पालिका पुगेपछि अवलोकन तथा भ्रमण कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाका बालकल्याण तथा गुनासो सुन्ने अधिकारी एवं भ्रमण व्यवस्थापक मानवीर ओलीका अनुसार जेष्ठ नागरिकको पाँच दिने भ्रमण अभियान भव्य तरिकाले सम्पन्न भएको छ । हिमाली भेगमा ज्येष्ठ नागरिकको समूहलाई भ्रमण गराउनु अत्यन्त चुनौतीपूर्ण भएपनि व्यवस्थापनका तर्फबाट योजनाबद्ध रूपमा कार्यक्रम सम्पन्न गरिएको ओलीको भनाइ छ ।
भ्रमणका क्रममा तीन लाख ७३ हजार ४ सय रुपैयाँ खर्च भएको बताइएको छ । जसमा गाडी भाडा एक लाख ६० हजार, खाना, बास, नास्ता तथा अन्य स्थल अध्ययन खर्च दुई लाख ७ हजार सात सय, विविध खर्च ४ हजार र अतिरिक्त खर्च एक हजार ७ सय रहेको छ । भ्रमण खर्च मध्ये दुई लाख ४८ हजार गाउँपालिकाले व्यहोरेको र बाँकी रकम ३८ जना जेष्ठ नागरिकबाट संकलन गरिएको जनाइएको छ ।
भ्रमण अवधिभर सहभागी ज्येष्ठ नागरिकहरू निकै उत्साहित भएको र विभिन्न ठाउँहरूको अवलोकन गर्दै धार्मिक, सांस्कृतिक तथा भौगोलिक अध्ययन गर्ने अवसर पाएकोमा उनीहरूले खुसी व्यक्त गरेका छन् ।