रुकुम पश्चिम -२०, असोज ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सानीभेरी गाउँपालिकाको समन्वयमा गाउँपालिकाको सभाहलमा आज संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम, नागरिक सुनुवाइ कार्यक्रम तथा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा छलफल गरिएको हो ।
कार्यक्रममा शान्ति सुरक्षा कायम गर्ने, अपराध न्यूनीकरण गर्ने, लागूऔषध दुर्व्यसन नियन्त्रण गर्ने तथा नागरिकलाई प्रभावकारी र सहज सेवा प्रवाह सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण छलफल गरिएको छ ।
स्थानीय नागरिकका गुनासा, जिज्ञासा र सुझावहरू प्रत्यक्ष रूपमा सुन्ने गरी कार्यक्रम राखिएको हो । कार्यक्रमलाई प्रभावकारी र नागरिकमैत्री बनाउन सरोकारवालाले जोड दिएका थिए ।
उक्त कार्यक्रमले स्थानीय तह, सुरक्षा निकाय र नागरिकबीचको समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउँदै समाजमा शान्ति, सुरक्षा र सकारात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।