रुकुम पश्चिम -२, असोज ।
रुकुम पश्चिममा स्वास्थ्यकर्मीहरूका लागि रेफरल निर्देशिकाको प्रयोग तथा स्थानीय स्वास्थ्य प्रणालीमा रेफरल सेवाको सुदृढीकरण सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अमेरिकी सरकारको आर्थिक सहयोगमा EpiC परियोजना मार्फत जिल्लाका ६ वटा स्थानीय तहमा सञ्चालित मातृ नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत नेपाल जनजागरण मञ्च, रुकुम पश्चिमको सहकार्य तथा मुसिकोट नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएका हो ।
स्वास्थ्यकर्मीहरूलाई रेफरल निर्देशिकाको प्रभावकारी प्रयोग, बिरामीलाई उपयुक्त समयमा रेफर गर्ने प्रक्रिया, रेफरलपूर्व तयारी, रेफरलपश्चात् फलोअप तथा स्वास्थ्य संस्थाबीचको समन्वय सम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारीले जानकारी दिए । यसबाट बिरामीलाई आवश्यक स्वास्थ्य सेवा समयमै उपलब्ध गराई गुणस्तरीय रेफरल सेवा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने अधिकार सुनिश्चित गरेको छ । साथै, जनस्वास्थ्य सेवा ऐन, २०७५ ले स्वास्थ्य संस्थाले आफ्नो संस्थामा उपलब्ध सेवा प्रदान गरी थप उपचार आवश्यक पर्ने बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थामा तत्काल रेफर गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेफरल निर्देशिका जारी गरेको छ ।
कार्यक्रममा मुसिकोट नगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुख तथा मुसिकोट नगरपालिका स्वास्थ्य शाखाको सहभागिता रहेको थियो ।