रुकुम पश्चिम -१७, असार ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले आज एक प्रेस विज्ञप्ति मार्फत मङ्गलबार कार्यालय समयमा भएको घटनालाई लिएर गम्भीर ध्यानाकर्षण गराएको छ । सार्वजनिक सेवा प्रवाह भइरहेको बेला केही व्यक्तिहरूको समूहले होहल्ला र गाली बेइज्जत गर्दै नगर उपप्रमुख धनकुमारी शाहीको कार्यकक्षामा तालाबन्दी गरेको विषयलाई लिएर ध्यानाकर्षण गराएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमको भुक्तानी तथा अन्य सेवा प्रवाहको काम भइराखेको समयमा होहल्लाले कार्यालयको सेवा प्रवाहमा प्रतिकूल असर गरेको बताइएको छ । आफ्ना माग राख्दा विधि, प्रकृया र कानुन भन्दा बाहिर गएर दबाव सिर्जना र तालाबन्दी गर्ने कार्यले सार्वजनिक सेवा प्रवाहमा समेत प्रत्यक्ष असर परेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
नगरपालिकाले उक्त कार्यको घोर भर्त्सना गर्दै सम्बन्धित व्यक्तिलाई नियमानुसार कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । साथै जनप्रतिनिधि तथा कर्मचारीको मनोबल र संस्थाको गरिमा सुरक्षित राख्न सबैमा संयमित, कानुनको पालना, मर्यादित र जिम्मेवार व्यवहार गर्न अनुरोध गरेको छ ।
