रुकुम पश्चिम -१७, असार ।
रुकुम पश्चिम प्रहरीले मङ्गलबार अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्लाको मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको विभिन्न स्थानबाट चारवटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी झबिन्द्र परियारले मुसिकोट -११ को खहरे जङ्गलबाट अवैध मोरङ (नदीजन्य गिट्टी बालुवा) लोड सहितका तीनवटा टिप्पर नियन्त्रणमा लिईएको बताए । प्रहरीले नियन्त्रणपछि आवश्यक कारबाहीका लागि चालक र सवारी साधनलाई मुसिकोट नगरपालिका पठाई ४५ हजार जरिवाना राजस्व रकम दाखिला गरी छाडिएको बताएको छ ।
त्यस्तै बाँफिकोट गाउँपालिका -१०, गाराघाटबाट अवैध बालुवा लोड सहितको एकवटा ट्याक्टर नियन्त्रणमा लिएर गाउँपालिकाको कार्यालयमा पठाइ पाँच हजार जरिवाना राजस्व दाखिला गरेर छोडिएको प्रहरीको भनाइ छ ।