रुकुम पश्चिम -७, जेठ ।
दशौं प्रधानमन्त्री कप (एनभिए) भलिबल प्रतियोगितामा सहभागी पश्चिम रुकुम भलिबल प्रशिक्षण केन्द्रले आयव्यय सार्वजनिक गरेको छ । उपाधि विजेता प्रशिक्षण केन्द्रले प्रतियोगिताको आयव्यय आज सार्वजनिक गरेको हो ।
प्रशिक्षण केन्द्रका अनुसार प्रतियोगिता अवधिभर कुल ३१ लाख ८७ हजार ७ सय ८० रुपैयाँ खर्च भएको छ । विदेशी खेलाडी अनुबन्ध गरेर प्रतियोगितामा सहभागीता जनाएको प्रशिक्षण केन्द्रले विभिन्न सहयोगी व्यक्ति र उपाधि पुरस्कार रकम प्राप्त गर्दा पनि ठूलो घाटा व्यहोरेको छ ।
केन्द्रका अध्यक्ष तेज विक्रम बुढाले एनभिए कपमा पहिलो पटक सहभागिता जनाएर उपाधि जिते पनि ठूलो घाटा व्यहोर्नु परेको बताएका छन् । प्रतियोगितामा प्रशिक्षण केन्द्रले कुल १३ लाख ५६ हजार ७ सय ८० रकम तिर्नुपर्नेमा राखेको छ ।
विदेशी खेलाडीको हवाई भाडा, पारिश्रमिक, होटल व्यवस्थापन लगायत अन्य खर्चका कारण प्रशिक्षण केन्द्र घाटामा गएको बताइएको छ । एनभिए भलिबलमा च्याम्पियन बनेको रुकुम भलिबल प्रशिक्षण केन्द्रले आगामी काभा क्लब च्याम्पियन्सिपमा समेत खेल्नुपर्ने छ । तर उक्त काभा च्याम्पियनसिपमा सहभागिताका लागि समेत थप आर्थिक जटिलता देखिएको बताइएको छ ।
पुनः सहयोगी संस्था, सरोकारवाला निकाय र सम्पूर्ण भलिबल प्रेमी महानुभावलाई सहयोगको लागि प्रशिक्षण केन्द्रले अपेक्षा गरेको केन्द्रका अध्यक्ष बुढाले बताए ।
रुकुम भलिबल प्रशिक्षण केन्द्रले नेपाल भलिबल सङ्घको आयोजनामा वैशाख १० गतेदेखि काठमाडौँको त्रिपुरेश्वरमा सुरु भएको प्रतियोगिताको फाइनल खेलमा टिपटप हेल्प नेपाललाई ३-० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि जित दर्ता गरेको थियो ।