रुकुम पश्चिम -२३, बैशाख ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले वैशाख २९ गते माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरू बिच वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत विद्यार्थी बिच “युवा पुस्ता र लागू औषध : जोखिम, प्रभाव र रोकथाम’ विषयक वक्तित्वकला प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीले कार्यालयबाट स्वीकृत भएको लागू औषध नियन्त्रण सम्बन्धी कार्य योजनाको तीन महिने अभियान अनुसार वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा जिल्लाका ६ वटै पालिकामा अध्ययनरत माध्यमिक तहका विद्यार्थीले भाग लिन पाउनेछन् ।
सहभागिताका लागि प्रत्येक स्थानीय तहबाट एकजना छात्रा सहित तीनजना विद्यार्थीलाई उक्त दिन बिहान १० बजे कार्यालयमा उपस्थित गराउन प्रशासनले अनुरोध गरेको छ ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई १० हजार नगद रूपैयाँ र प्रमाणपत्र, दोस्रो हुनेलाई ७ हजार रूपैयाँ र प्रमाणपत्र तथा तेस्रो हुनेलाई पाँच हजार रूपैयाँ र प्रमाणपत्र उपलब्ध गराइने छ ।
साथै प्रतियोगितामा सहभागी भएकालाई यातायात खर्च उपलब्ध गराइएको र पुरस्कृत विद्यार्थीको पुरस्कार राशि बाट नियमानुसार कर कट्टी गरिने प्रशासनले जनाएको छ ।