रुकुम पश्चिम : १८, फागुन ।
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोपाल शर्मा अनलले बलियो संगठन र पार्टीकै कारण चुनाव जित्ने दाबी गरेका छन् । पार्टी र संगठनका पछाडि हजारौं कार्यकर्ता र जनताको शक्ति रहेको भन्दै आफूले चुनाव जित्ने दाबी गरेका हुन् ।
मुसिकोट स्थित पत्रकारको एक अन्तर्वार्तामा बोल्दै उम्मेदवार शर्माले पार्टीका हजारौं समर्थक र जनताको साथले फागुन २१ को निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने बताए । पार्टीले लामो समयदेखि जनताको सुख र समृद्धिमा काम गरेकाले नै नेपाली कम्युनिष्ट पार्टीको पक्षमा आज पनि जनता साथमा रहेको शर्माको भनाई छ ।
उनले रुकुमको परिवर्तन र समग्र विकास नेकपाले नै गर्ने भएकाले जनताको सेवाका निम्ति आफू तयार रहेको बताउँदै सबै रुकुमेली मतदातालाई भोटका लागि समेत अपिल गरेका छन् ।
यसैगरी अर्को एक फरक प्रसङ्गमा नेता शर्माले प्रलोपा पार्टी फागुन २१ पछि नरहने ठोकुवा गरेका छन् । उक्त पार्टी रुकुम पश्चिममा मात्र अलिअलि देखा परेकाले निर्वाचनपछि हराएर जाने दाबी गरे ।
हिजो जनार्दन शर्मा ५२ सालदेखि ६२ सम्म माओवादीको आधार किल्ला निर्माण गर्दा उनको भूमिका जिल्ला बाहिर रहँदा पनि चार पटक सम्म रुकुमेली जनताले नै विश्वास गरेर जिताएको उनले स्मरण गरे ।
यस्तो अवस्थामा पार्टी छाडेर जानेको पछाडि अब कोही नभएको नेकपा उम्मेदवार शर्माको भनाइ छ । जसका कारण यसपटकको निर्वाचनमा प्रलोपाले एजेन्डको रूपमा बस्ने प्रतिनिधि नै नपाउने उनले बताए ।