रुकुम पश्चिम -९, माघ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा १२ जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम सूची अनुसार १२ जनाको उम्मेदवारी कायम भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम समयसम्म कुनै पनि उम्मेदवारले नाम फिर्ता नलिएको र दाबी विरोध समेत नपरेको बताएको छ । सोही बमोजिम निर्वाचन कार्यक्रम तालिका मार्फत अन्तिम १२ जना उम्मेदवारको सूची सार्वजनिक गरिएको बताइएको छ ।
यससँगै आगामी निर्वाचनमा रुकुम पश्चिमबाट १२ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने पक्का भएको छ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १२ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर -१ बाट आगामी निर्वाचनमा नेकपा एमालेबाट नन्दराम देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्मा (अनल) र नेपाली कांग्रेसबाट राजु केसी उम्मेदवार बनेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्का र राष्ट्रिय जनमोर्चाबाट सत्यनारायण श्रेष्ठ उम्मेदवारको रुपमा निर्वाचनमा होमिएका छन् ।
त्यस्तै नेकपा (माओवादी) बाट चन्द्र बहादुर बुढा, उज्यालो पार्टी नेपालबाट नरेन्द्र केसी नेकपा संयुक्तबाट शेर बहादुर केसी, आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीबाट धनबहादुर बिकले चुनावी प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।