रुकुम पश्चिम – २३, मङ्सिर ।
नेपाल प्रिमियर लिग अन्तर्गत आज पहिलो क्वालिफायर सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बिच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ४ बजेबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
आजको क्वालिफायर खेलमा विजेता हुने टिमले सिधै फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टिमले भने पुनः फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेता सँग दोस्रो क्वालिफायरको खेल खेल्नुपर्ने छ ।
जारी एनपीएलमा बुधबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच एलिमिनेटरको खेल हुनेछ । उक्त खेलको विजेता टिमले पहिलो क्वालिफायरको पराजित टिमसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ ।
मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा कुल ८ वटा टिमको सहभागिता रहेकोमा चारवटा टिम लिग चरणबाटै बाहिरिएका छन् ।
यसपटक टियु क्रिकेट मैदानमा फ्लड लाईट र कुर्सी राखेपछि रात्रिकालीन समयमा पनि एनपीएलका खेलहरू सञ्चालन भएका छन् । एनपीएलमा एसोसिएट र टेष्ट राष्ट्रका खेलाडीहरूको समेत सहभागिता रहेको छ ।
एनपीएलको फाइनल खेल मङ्सिर २७ गते हुनेछ । पहिलो संस्करणको एनपीएल उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । तर यसपटक जनकपुर प्रतियोगितामा एक मात्रै खेल जितेर अंकतालिकाको पुछारमा रह्यो ।