रुकुम पश्चिम -२१, कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१० को चुनमा अवस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा एक दिने मानसिक स्वास्थ्य शिविर तथा चिकित्सकीय सुपरभिजन कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजना र C.M.C. नेपालकाे प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा १८ जना महिला र ८ जना पुरुष गरी कुल २६ जनाले डाक्टरबाट स्वास्थ्य सेवा लिएका छन् । ती मध्ये २३ जनालाई औषधि उपचारका लागि सिफारिस गरिएकाे छ भने १७ जनाले परामर्श सेवा पाएका छन् ।
सिफारिस भएका बिरामीहरूलाई वडा कार्यालय मार्फत औषधि निशुल्क वितरण गरिएको छ । वडा कार्यालयका अनुसार नियमित रूपमा मानसिक स्वास्थ्यका औषधि निशुल्क उपलब्ध गराउने तयारी भइरहेको छ ।
शिविरमा सहभागी बिरामी मध्ये चिन्ता र उदासिन्ताका समस्या बढी देखिएका छन् । सेवा लिने २६ जनामध्ये ६९ प्रतिशत महिलामा मानसिक स्वास्थ्य समस्या (उदासिन्ता/चिन्ता) रहेको पाइएको छ । जसका प्रमुख कारणमा लैंगिक हिंसा रहेको डाक्टरहरूले बताएका छन् ।