रुकुम पश्चिम -२६, असार ।
रुकुम पश्चिम भागलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम आवश्यक सबै प्रक्रिया पूरा गरिएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिले १६ देखि ५९ महिनाका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार खोप दिइएकाले दिगोपना जिल्ला घोषणा गरिएको बताएको छ ।
रोगको नियन्त्रण, निवारण, उल्मुल्न, मृत्युदर र अपाङ्गता घटाउन राष्ट्रिय खोप अभियान कार्यक्रम सञ्चालनमा रहेको छ । सो आधारमा मुसिकोटमा एक कार्यक्रमको आयोजना गरी रुकुम पश्चिम भागलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको विश्लेषण, सुक्ष्म योजना तयारी र खोप छुट प्रदान तथा प्रतिवेदन तथा प्रतिबद्धतालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका तीनवटा रणनीति मानिएको छ ।
यसै अनुरूप जिल्लाका छ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरि सिङ्गो जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताइएको छ ।
स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता जिल्ला-हाम्रो प्रतिबद्धताका साथ यो अभियान प्रत्येक वर्ष सञ्चालनमा रहेको छ । रुकुम पश्चिम जिल्लालाई २०७९ असार ३१ गते पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । यसैलाई निरन्तरता दिनको लागि विगत तीन वर्षदेखि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सञ्चालनमा रहेको छ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा समन्वय उपप्रमुख देवबहादुर बिकको अध्यक्षता, पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख तथा सरोकारवाला निकायको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । यस घोषणा कार्यक्रममा उत्कृष्ट स्वास्थ्यकर्मीलाई पुरस्कृत गरिएको छ ।