रुकुम पश्चिम -११, वैशाख ।
नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्माले समृद्ध नेपालको आधार उत्पादन, शिक्षा, स्वास्थ्य, संस्कृति र रोजगार भएको बताएका छन् । त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनका क्रममा शर्माले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै शर्माले भने, “अब पालिकाले आफूले उपभोग गर्नेभन्दा बढी उत्पादन गर्नुपर्छ । त्यो उत्पादन बजारीकरण गरी स्थानीय आय वृद्धि गर्न सकेमा मात्रै गरिबी अन्त्यको बाटो खुल्छ।” उहाँले कृषिजन्य उत्पादन, पशुपालन, र जलस्रोतको उपयोग गरेर आर्थिक विकास सम्भव हुने उल्लेख गरे ।
शिक्षा क्षेत्रमा देखिएको संकटप्रति चिन्ता व्यक्त गर्दै शर्माले शिक्षकको अभाव, आन्दोलन र व्यवस्थापनमा कमजोरी देखिएको बताए । “शिक्षा व्यवस्थित गर्न तल्लो तहदेखि सुधार गर्दै भाषा शिक्षामा पनि सुधार आवश्यक छ,” उहाँको भनाइ थियो ।
शर्माले घर-घरमा कम्तीमा दुधका लागि भएपनि एउटा गाई पालन गर्न सक्ने वातावरण बनाउने हो भने गाउँमै रोजगारी सिर्जना हुने र आत्मनिर्भरता बढ्ने उल्लेख गरे । “विदेश जानु पर्ने अवस्थालाई घटाउँदै स्थानीय स्तरमै उद्यम गर्न सक्ने योजना आवश्यक छ,” शर्माले थपे ।
त्यस्तै सांस्कृतिक पहिचान र मौलिकतालाई जोगाउनुपर्ने धारणा राख्दै शर्माले पञ्चेबाजा, लोक नृत्यजस्ता सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न पालिकाले विशेष योजना ल्याउनुपर्ने सुझाव पनि दिए ।
कार्यक्रममा त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा, समाजसेवी लगायतको उपस्थिति थियो ।