रुकुम पश्चिम -५ वैशाख ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले जिल्लाको यातायात व्यवस्थापनलाई मजबुत गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवस्थापनसम्बन्धी तीनवटा निर्णय गरेको हो ।
बैठकले गएको पुस १४ गते तय भएका नवप्रवर्तनीय क्रियाकलाप अन्तर्गतका विषयवस्तुहरूको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै सो सम्बन्धी अद्यावधिक विवरण हरेक महीनाको १० गते हुने नियमित बैठकमा पेश गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै नाप नक्सा विपरीत गैरकानूनी रुपमा सडकको दायाँ-बायाँ निर्माण भएका अस्थायी संरचनाहरू हटाउन सरोकारवालाहरूको सहकार्यमा जिल्लास्थित सबै स्थानीय तहहरूले १५ दिने सूचना सम्प्रेषण गरी आवश्यक कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ ।
त्यसैगरी हालको प्रचलित भाडादरलाई कडाईका साथ कार्यान्वयन गर्दै अद्यावधिक भाडादर लागू गर्न अर्को बैठकमा पेस गर्ने निर्णय आजको बैठकले गरेको छ ।
प्रजिअ जिसीको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्लको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी, जिल्ला समन्वय समिति उपप्रमुख देव बहादुर बिक र मुसिकोट नगरपालिका उपप्रमुख बिमल कुमार पुनको विशिष्ट अतिथ्यता रहेको थियो ।
त्यस्तै बैठकमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विषयगत कार्यालयका प्रमुख, यातायात व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको बताइएको छ ।
बैठकको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी बिनोद रेग्मीले गर्नुभएको थियो ।